TRENDING

कुन बैंकका कर्मचारीहरुको तलवभत्ता कति ? यस्तो छ विवरण !

काडमाडौं । पछिल्लो सात महिनामा देशभरका वाणिज्य बैंकहरुले कर्मचारीको तलवभत्ता २२ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेका छन् ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म २७ वाणिज्य बैंकले कर्मचारीको तलबभत्तामा २२ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कर्मचारीको तलबभत्तामा सबैभन्दा धेरै खर्च गर्नेमा कृषि विकास बैंक पहिलो स्थानमा छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गएको साउनदेखि माघमसान्तसम्म सो बैंकको कर्मचारीहरुको खर्च १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । कृषि विकास बैंकका देशभर २ सय ७८ शाखा छन् ।

त्यस्तै, कर्मचारीको तलवभत्तामा धेरै खर्च गर्नेमध्ये दोस्रो स्थानमा ग्लोबल आईएमी बैंक रहेको छ । समीक्षा अवधीसम्म सो बैंकको कर्मचारीलाई १ अर्ब ४५ करोड बराबर तलवभत्ता प्रदान गरेको छ । सो बैंकका देशभर २७० शाखा छन् ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलवभत्तामा चालु आवको माघ मसान्तसम्म१ अर्ब ४० करोड रुपैयाँ बराबर खर्च रहेको छ । बाणिज्यबैंकहरुमध्ये कर्मचारीको लागि खर्च गर्नेमा यो तेश्रो धेरै खर्च हो ।

यो अवधीमा सात वाणिज्य बैंकको कर्मचारी खर्च अर्ब क्लबको लाइनमा छ । तथ्यांक अनुसार ७ वाणिज्य बैंकको कर्मचारीहरुको खर्च १ अर्बभन्दा बढी रहेको छ ।

यसैगरी, समीक्षा अवधीसम्म बाँकी २० वाणिज्य बैंकको कर्मचारी खर्च करोड क्लबको लाइनमा रहेको छ । १७ वाणिज्य बैंकको कर्मचारी खर्च ५० करोड भन्दा माथि र १ अर्बभन्दा कम रहेको छ । भने कर्मचारी खर्चको हिसाबको मामलमा ३ वाणिज्य बैंकको खर्च सबैभन्दा कम रहेको छ ।

आर्थिकवर्षको ७ महिनाको अवधिमा कर्मचारीको तलवभत्तामा सबैभन्दा कम खर्च गर्नेबैंकहरुमा सिटिजन्स, स्टान्डर्ड चार्टर्ड र नेपाल बङ्गलादेश बैंक छन् । सिटिजन्स बैंकको कर्मचारी खर्च ४८ करोड ९० लाख रुपैयाँ रहेको छ ।

यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकको समीक्षा अवधीसम्म ४८ करोड ८९ लाख रुपैयाँ कर्मचारी खर्च रहेको छ । नेपाल बङ्गलादेश बैंकको कर्मचारी खर्च ४८ करोड ८१ लाख रुपैयाँ बराबर रहेको छ ।