TRENDING

खेलाडी उपचारका लागि सङ्कलित रु १० लाख हस्तान्तरण

वालिङ । नेपाली फुटबलको २३ वर्षमुनिको राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी विश्वास श्रेष्ठको बुबाको उपचारका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य एवं वालिङ नगर खेलकूद समितिका संयोजक लालबहादुर ज्वारचनको संयोजकत्वमा सङ्कलन गरिएको रु नौ लाख ९१ हजार ४०३ नगद बुबा रुपनारायण श्रेष्ठको उपचाकारका लागि छोरा विश्वासलाई हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय खेलाडी विश्वासको बुबाको उपचारका क्रममा भएको रकम सकिँदै गएको र आर्थिक अवस्था कमजोर हुँदै गएकाले रकम सङ्कलन अभियान सञ्चालन गरिएको संयोजक ज्वारचनले बताउनुभयो । “विश्वासको बुबा रुपनारायणको उपचारका लागि हालसम्म झण्डै रु ३५ लाख खर्च भइसकेकाले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने मानवीयता नाताले रकम सङ्कलन अभियान चलायौँ”, संयोजक ज्वारचनले भन्नुभयो, “हामीले चलाएको अभियानमा देश तथा विदेशबाट राम्रो सहयोग प्राप्त भयो, सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दछौँ ।”

आर्थिक सङ्कलन अभियानअन्तर्गत पहिलो चरणमा वालिङ नगरपालिकाभित्र घरदैलोबाट रु चार लाख ३३ हजार ८०, विदेशबाट सहयोग प्राप्त रु तीन लाख ९१ हजार ७८३, वालिङबाहिर स्वदेशबाट रु एक लाख ६१ हजार ५४० र गोल नेपालबाट रु १० हजार प्राप्त भएको र उक्त रकम हस्तान्तरण गरिएको वालिङ फुटबल क्लबका उपाध्यक्ष मोतिलाल कुँवरले बताउनुभयो ।