TRENDING

पशुपति आर्यघाटमा दाउराबाट नै शव दाह गर्ने मेसिन जडान, पशुपति क्षेत्र विकासको गुरुयोजना अन्तिम चरणमा

काठमाडौं । पवित्र धार्मिक स्थल पशुपति आर्यघाटमा दाउराबाट शव जलाउने मेसिन जडान गरिएको छ । हिन्दु धर्म अनुसार मानिस मरेपछि दाउराबाट नै शव दाह गर्नुपर्ने मान्यता राख्नेहरुको लागि लक्षित गरी सो मेसिन जडान भएको हो । काठमाडौंको पशुपतिमा यस अघि नै विद्युतिय शवदाह संचालन भइसकेता पनि दाउराबाट शवदाह गर्ने मेसिन भने हालै मात्र राखिएको हो ।

वातावरण मैत्री रहेको सो मेसिनको संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनावरण गर्नुभएको छ । हिन्दु संस्कार जीवित राख्न सघाउ पुर्याउने हेतुले यो मेसिन जडान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । काठको खपत कम हुनाका साथै एउटा शव जलाउन बढिमा डेढ घण्टा मात्र लाग्ने कोषले जनाएको छ । कोषले दाउराबाट शव जलाउने मेसिन अगाडी जडान गरेको विद्युतिय शव दाह मेसिनमा हाल कोराना संक्रमण भई मृत्यूवरण गरेकाहरुको शव जलाउने गरिएको छ ।

मेसिन अनावरण पश्चात् बोल्नुहुँदै मन्त्री भट्टराईले पशुपति क्षेत्र सुधारका गुरुयोगना निर्माण कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । गुरुयोजनामा पशुपति क्षेत्रलाई हिन्दु धर्मावलम्बिको मात्र नभई अन्य समग्र धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको समेत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने किसिमका योजनाहरु समावेश रहेको समेत उहाँले बताउनुभयो । आगामी कार्यहरु सोहि गुरुयोजना अनुरुप नै हुने र पशुपति क्षेत्रको धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका पक्षमा केन्द्रित हुँदै स्थानीय सरोकारका सवाल समेत सम्बोधन हुने गरी गुरुयोजनालाई अन्तिम रुप दिने काम समेत भइरहेको उहाँको भनाई छ ।

यसका साथै अबका दिनमा स्वास्थ्य मापदण्डहरु पालना गर्दै धार्मिक साँस्कृतिक गतिवविधिहरु खुला गर्दै जाने र पुस १ बाट पशुपति मन्दिर खुला गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो । त्यसका लागि स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न गराउन मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।