

विक्रम सम्वत् २०७७ साल कात्तिक ८ गते ब्रम्हा मुर्हूत सकिए लगत्तै सूर्योदय अघि एक पुरूषको क्रूरतापूर्वक हत्या भयो।
नामः यलम्बर उपाध्याय
उमेरः अन्दाजी ४५ वर्ष
हुलियाः निधारको मध्यभागमा कालो खत।
मृतकको निर्दोष अनुहार माटोमा जोतिएको छ। यति टिठलाग्दो मान्छेको हत्या कसले गर्यो?
खबरदार ! हत्यारा खोज्ने संवैधानिक अधिकार छैन तपाईंसँग। तर, यो दुखान्त कहानीको पर्दा भने च्यातिनैपर्छ। उनको हत्यालाई एक मानवशास्त्रीय कोणबाट कोट्याउनैपर्छ। उनको दर्दभरी कहानी सुनिसकेपछि केही यस्ता लाक्षणिक जवाफ फेला पार्नुहुनेछ, जसले तपाईंलाई उनको हत्यारा अघिल्तिर ठिंग उभ्याउनेछ। हत्याराको पूर्ण परिचय भने खुलाउन नपाइने कानुनी प्रावधान छ।
बरु तपाईं पनि यो कथाको एक पात्र हुनुहुन्छ र तपाईंले एउटा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेछ।
यो हत्या सनसनीपूर्ण नभए पनि रहस्यमयी छ। हत्याराले कुनै सवुत छाडेका छैनन्। उनको प्राण कसरी गयो भनी पोस्टमार्टम रिपोर्टले पनि सायदै खुलाउला। म तपाईंलाई पुरातन ढर्रामा उनको परिचय दिनेछु ।
उनको नाम, यलम्बर उपाध्याय थियो।
अरु ऐजन, ऐजन भइहाल्यो। उनी एक प्रतिष्ठित प्राइभेट कम्पनीका मामुली कर्मचारी थिए। अलि बढी नै आदर्शवादी भएकाले उनको जीवनमा दुःखको भयंकर चाङ थियो। यद्यपि गौतम बुद्धका उपासक भएकाले सांसरिक दुःखबाट विचलित थिएनन्।
हिजो सबेरै मैले उनलाई सैनिक मञ्च अघिल्तिर शिरिषको रूख मुन्तिर पद्मासनमा ध्यान मुद्रामा भेटेको थिएँ। त्यसबेला पनि उनले यही हल्का पहेंलो कमिज र सेतो सुरूवाल लगाएका थिए। त्यसअघि उनी परिवारसहित रत्नपार्कमा टुक्रुक्क बसेर नि:शुल्क भोजन ग्रहण गरिरहँदा पनि यही हुलियामा देखेको थिएँ।
हुन त मैले जहिलेदेखि उनलाई पच्छ्याउन थालें, उनी हरदम यही लुगामा हुन्थे। सम्भवत कार्यालय जाँदा लगाउने एक थान लुगाबाहेक उनको यही कमिज–सुरूवाल मात्र थियो।
कसैसँग वैरभाव, आग्रह–पूर्वाग्रह थिएन। बौद्धमार्गी हुनुको नाताले उनी संसारलाई सम्यक दृष्टि र सोचले हेर्ने गर्थे। भलै उनी पूर्वीय शास्त्रहरूले व्याख्या गर्ने ‘पुरूषार्थी’ थिएनन्, यद्यपि नागरिकतामा व्यक्तिको गुण अनुसार श्रेणी विभाजन हुँदो हो त उनी ‘असल नागरिक’ भने पक्कै थिए।
किनभने महिनाभर नपुग्ने आफ्नो पसिनाको कमाइबाट पनि उनले राज्यभार तिर्थे। उनले केही पटक ‘असल कर्मचारी’को पुरस्कार पाए। आफ्नो पसिना र इमानबाट प्राप्त पुरस्कारको केही अंश राज्यलाई बुझाए।
उनी राज्यको निम्ति इमान्दार उपभोक्ता थिए। निम्न मध्यम वर्गीय भएकाले उनी चाडबाड मनाउनदेखि नुन–तेल जुटाउन समेत विशुद्ध आफ्नै खल्तीको खर्च गर्थे। सम्भव भएसम्म आफूले खरिद गरेको सरसामनको भ्याट–बिल माग्ने गर्थे।
तपाईं यो नसोच्नुहोस् कि, उनको मृत्यु राज्यको निम्ति एक अपुरणीय क्षति हो।
प्रत्येक घण्टा उनी जस्ता मामुली व्यक्तिको मृत्यु र हत्या भइरहेकै हुन्छ। यदि उनीहरूको मृत्युको हिसाब–किताब राख्न थाल्ने हो भने राज्यले ‘मृत्यु मन्त्रालय’ बनाएर मन्त्री, सचिवदेखि पाले सम्मका व्यवस्था गर्नुपर्ने हुन्छ।
यो कुनै अलौकिक दुर्घटना पनि होइन।
आखिर उनले ४५ वर्ष आयु बाँचिसकेका थिए। पूरा आयु बाँच्न पाएकै भए पनि १५–२० वर्ष न उनको सक्रिय जीवन रहन्थ्यो। मृत्यु निश्चित थियो, ढिलो–चाँडोको कुरा हो। बरू यसो भनौं, उनले दुःख लुकाए।
अपशोचको कुरा चाहिँ के छ भने उनी यति चाँडै बैकुण्ठवास हुन चाहँदैनथे। सकेसम्म उनी आफ्नो मृत्युलाई मात्र होइन, बुढ्यौलीलाई पनि पर धकेल्न चाहन्थे। त्यसैले उनले कलेजोको सुरक्षाका खातिर मदिरा त्यागे। फोक्सोको रक्षाका लागि धुमपान त्यागे। मासु वा मसलाजन्य मीठोमसिनो खान्की त्यागे ऐश–आरम त्यागे। मनोरञ्जन त्यागे।
बिहान साढे चार बजे उठ्नु, नित्य कर्म सक्नु, भक्ति–आरधाना गर्नु, योग–ध्यान गर्नु, अक्सर सकारात्मक र खुसी रहन खोज्नु।
यी सम्पूर्ण त्याग–तपस्यको सुषुप्त अभिष्ट एउटै थियो, शरीरमा रोग–व्याधि नलागोस्। बुढ्यौलीले नछोपोस्। चाँडै मर्न नपरोस्। आखिर उनी मृत्युसँग किन यतिविध्न भयभित थिए ?
आदरणीय पाठक। यही मोडमा आइपुगेपछि तपाईंको भूमिका जरूरी हुन्छ। यो कालो छालाको व्याग तपाईं बोक्नुहोस्।
यो क्यामेरा पनि तपाईं बोक्नुहोस्, ताकि मैले देखाएको र भनेको कुराहरू रेकर्ड गरियोस्। भोलि तपाईंले आफ्नै युट्युब च्यानल खोलेर यो भिडिओ राख्न सक्नुहुन्छ।
अब तपाईं आउनुहोस् मेरो पछि–पछि। म जता जान्छु, त्यतै आउनुहोस् र जे भन्छु रेकर्ड गर्नुहोस्।
यो निष्ठानन्द मार्ग हो। धरहराबाट केही अगाडि बढेपछि यहाँ आइपुगेका छौं।
यो साँघुरो गल्लीबाट अगाडि बढौं।
तपाईंको सम्मुखमा रहेको पुरानो शैलीको घर, जहाँ हामी प्रवेश गर्नेछौं। आँगनसँगै जोडिएको तुलसीको मठमा एक अधवैंशे महिला सकिनसकी इनारको पानी तान्दैछिन् र गाग्रीमा भर्दैछिन्। एकछिन ती पिलन्धरे महिलाबाट आफ्नो ध्यान हटाउनुहोस्।
तपाईं त्यता होइन, यता आउनुहोस्। थोरै निहुँरिनुहोस्, सिलिङमा टाउको ठोकिएला। अँ, त्यही काठको भर्याङबाट माथि उक्लनुहोस्। सामुन्नेमा दुइटा कोठा देख्नुभो नि। अँध्यारो भए पनि भित्रका दृश्यहरू ठम्याउन कठिन छैन। फ्रेममा सबै दृश्य आउनेगरी खिच्नुहोस्। त्यो भान्सा, भान्सासँगैको खाट। खाटमाथि दुई अबोध बालक। अर्को छेउमा एक बुढी आमै । यत्ति हो यलम्बर उपाध्यायको सेरोफेरो।
उनीहरू जुम्ल्यहा दाजुभाइ हुन्। उमेर ८ वर्ष। यी सुकुमार बच्चाहरू होमवर्क गरिरहेका छन्। अनलाइन कक्षा पढ्नका लागि ल्यापटप, कम्प्युटर र इन्टरनेट समेत नभएकाले दुई छोरोलाई यलम्बर उपाध्याय आफैंले पढाउँदै आएका थिए।
सम्भवत हिजो पढाएको पाठबाट उनले छोराहरूलाई होमवर्क दिएका हुनुपर्छ, अहिले जो उनीहरू धमाधम गर्दैछन्।
अब तपाईंले क्यामेरा लेन्स पलंगमुनि फोकस गर्नुहोस्। त्यो ठूलो ठेली ‘पुँजी’ हो, कार्ल मार्क्सको। जतनसाथ राखिएका ती सबैजसो पार्टीका घोषणापत्र हुन्। बाँकी लु सुन र म्याक्सिम गोर्कीका पुस्तक हुन्।
अस्पतालको वार्डमा राखिने जस्तो सामान्य पर्दाले ढाकिएको अर्को कोठामा क्यामेरा सोझ्याउनुहोस्। त्यो खाट, त्यससँगै स्टिलको दराज। अनि झ्याल नजिक मनिप्लान्टको बिरूवा । क्यालेन्डर । भो, सबैकुरा कैद गर्नुपर्दैन। बरु त्यसमा बसेर एउटी बुढी आमै चुलेसीले घिरौलाको तरकरी काट्दैछिन्, उनमा फोकस गर्नुहोस्।
तपाईंले भेउ पाइसक्नुभयो, उनी यलम्बरकी साख्खै आमा। तनहुँकी बाहुनी। उनले भोजपुरका किराँतसँग घरजाम गरिन्। उनीहरूको कोखबाट एउटा छोरोको जन्म भयो। नाम जुराइदिए, यलम्बर। यलम्बर अर्थात किराँती राजा। यलम्बरले आफ्नो नामको पछाडि बुवाको होइन, आमाको थर झुन्ड्याए, उपाध्याय।
यलम्बर जन्मेकै वर्ष रोजीरोटीका लागि मेघालयतर्फ भाँसिए। कोइलाखानीमा काम गर्छ भन्थे। उनी फर्केर आएनन्। उनै बाहुनी आमाले यलम्बरलाई खुट्टा टेक्ने बनाइन्।
अहिले उनी आँखा देख्दिनन्, अन्दाजको भरमै सबै काम गरिरहेकी छिन्। मोतियाबिन्दुले दृष्टि धमिलो भएपछि आमालाई डा. रुइतकहाँ लैजाने यलम्बरको योजना कहिल्यै पूरा भएन।
अघि आँगनमा जुन महिला इनारको पानी तान्दै थिइन्, उनी यलम्बरकी श्रीमती। यही प्वालबाट क्यामेराले उनलाई फोकस गर्नुहोस्।
पाठेघरको रोगले ग्रस्त उनलाई मधुमेहले पनि हैरान बनाएको छ। महिनामा एक पटकजसो उनी बिरामी हुन्छिन्। धेरैजसो समय ऐंया र अत्था गरिरहेकी हुन्छिन्।
पछिल्लो केही महिनायता यलम्बरलाई साढे सातको दशाले असाध्यै पिरोलेको थियो। कोरोना संकटपछि कम्पनीले उनलाई बेतलबी बिदा बस्न भनेको थियो। पैसा जगेडा थिएन र अरु कुनै जायजेथा समेत नभएको हुँदा उनको निद्रा र भोक गायब भएको थियो।
अघिल्लो रातमात्र उनी त्यही खाटमा बसेर कार्ल मार्क्सको पुँजी सिरानी लगाएर धेरैबेर के–के सोचिरहेथे। त्यसपछि उनले सानो कागजको टुक्रामा आफ्नो पारिवारिक खर्चको विवरण बनाएका थिए।
कुन–कुन खर्च घटाउन सकिएला भनी धेरैबेर चिन्तन गरेका थिए। त्यसपछि उनले बजारमा पाइने सबभन्दा सस्तो खानेकुराहरूको सूची पनि तयार गरेका थिए।
त्यसो त केही महिनायता उनी नि:शुल्क भोजनको खातिर परिवारलाई लिएर रत्नपार्क धाइरहेका थिए। यद्यपि चाडपर्वको बेला एकसरो लुगा फेर्ने र एक छाक मासु खाने हुती नहुनुले उनलाई कतिसम्म ऐंठन पारेको थियो भने, हिजोको मध्यान्ह उनी आफ्नो इमान बेच्न सुन्धारातिर निस्किएका थिए।
त्यही बखत हाम्रो जम्काभेट भएको थियो। हुन त मैले उनलाई पच्छ्याइरहेकै थिएँ। जम्काभेट त एक बहाना न थियो। किनभने मलाई उनको उद्धार गर्नु थियो। उनलाई मैले देशभरका चोक–गल्लीमा एउटा पोस्टर टाँस्ने गजबको रात्रिकालीन रोजगारको अफर गरेको थिएँ र उनले निसर्त मानेका थिए। त्यही रात उनी पोस्टर टाँस्न निस्किएका थिए, ‘समृद्ध नेपाल, सुखी नेपाली।’
सूर्योस्त भएसँगै उनी घरबाट काममा निस्किए। रातभर इमानपूर्वक काम गरे। तर, उनले अर्को बिहानी देख्न पाएनन्। मैले उनको हत्या गरिदिएँ।
यी सबै वृत्तान्त किन सुनाइरहेको छु भने अब तपाईंले बोक्नुभएको छालाको ब्यागमा एउटा डुप्लिकेट फेस मास्क। त्यो यलम्बर उपाध्यायको अनुहार हो। त्यही एउटा पेस्तोल पनि छ। तपाईंसँग दुइटा विकल्प बाँकी छन्।
पहिलो विकल्प, चार वटा गोलीले यी दुःखी प्राणीलाई सिध्याइदिनुहोस्, ताकी उनीहरूको दुःख सधैंका लागि नष्ट होस्।
अर्को विकल्प, यलम्बर उपाध्यायको फेस मास्क लगाउनुहोस् र यो परिवारमा सधैं भ्रमको सुख छरिरहनुहोस्। तपाईं मञ्जुर हुनुहुन्छ नि ?
मल्टिमिडियाबाट थप समाचार
पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल
मुर्माटप हिमाल : पर्यटक आकर्षणको केन्द्र
‘मेरी बास्सै’का बडाकाजी फेरीए
‘महापुरुष’ को दश दिनको कमाई ६ करोड
बलभद्र कुँवरले लडेको युद्धमा आधारित चलचित्र नालापानी प्रदर्शनमा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७