

काठमाडौँ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इ–पेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बुधवार सुरुवात गर्नु भएको छ । ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उहाँले सो प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइन मार्फत नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । योसँगै ‘नयाँ युग’को सुरुवात भएको पनि उहाँले बताउनुभयो ।
‘व्यापार सहरीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगायतका लागि यसले महत्त्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उहाँले भन्नुभयो, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै उहाँले भन्सार विन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिनुभयो । उहाँले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।
मन्त्री शर्माले भेकल स्क्यानर माल वस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गर्नुभयो । ‘हामीले इ–पेमेन्टको सुरुवात गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’, उहाँले भन्नुभयो, ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्त्वपूर्ण साधन हुनेछ ।’ सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्नुहुँदै उहाँले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको हो ।
उहाँले भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेनटिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । साथै निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरू सकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने पनि विश्वास दिलाउनुभयो ।
यसैगरी पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको शृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउनुहुँदै अर्थतन्त्र धराशायी नभएको बताउनुभयो । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुहुँदै त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने बताउनुभयो ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७