TRENDING

नेपाली काँग्रेसको अधिकांश जिल्ला अधिवेशन सम्पन्न, प्रदेश निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन समितिको टोली परिचालित

काठमाडौं । १४ औँ महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले अधिकांश जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । १६ गतेदेखि हुने प्रदेश निर्वाचनका लागिपनि कांग्रेसले सातै प्रदेशमा निर्वाचन समितिको टोली खटाइएको छ ।

नेपाली कांग्रेसले करिब ६० वटा जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । दशै अघि नै १३ वटा हिमाली जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको कांग्रेसले एउटा मात्रै निर्वाचन क्षेत्र भएका ३५ जिल्लाको अधिवेशन पनि सम्पन्न गरेको छ ।

मंसीर ३ देखि १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका भएपनि अझै एक दर्जन भन्दा बढी जिल्लामा अधिवेशन हुन सकेको छैन । ढिलो गरी क्रियाशील सदस्यता टुंगिएका प्रदेश नम्बर दुइका सिराहा, सप्तरी, धनुषा, महोत्तरी, पर्सा र रौतहटको साथै कैलाली र चितवनमा समेत जिल्ला अधिवेशन हुन सकेको छैन ।

यसैबीच डडेल्धुरा जिल्लाको जिल्ला, प्रदेशसभा क्षेत्र, पालिका र वडाहरुको सम्पन्न अधिवेशनमाथि असन्तुष्टि जनाइ केन्द्रिय कार्यालय सानेपामा अन्सनरत पक्षले अनसन तोडेका छन् । १४ दिनदेखि अनसन बसिरहेका उनीहरुले निर्वाचनका विषयमा असन्तुष्टि रहेपनि महाधिवेशनका लागि अनसन तोडेको बताएका छन् ।

नेपाली कांग्रेसको कुल १ सय ३२ पदका लागि मंसीर २४ देखि २६ गतेसम्म कांठमाडौमा केन्द्रिय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।