TRENDING

एमाले महाधिवेशन २ दिन लम्बियो, थप डेढ करोड बढी खर्च हुने अनुमान

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । तोकीए भन्दा बढि समय महाधिवेशन लम्बिंदा निर्धारित बजेटभन्दा करिब डेढ करोड खर्च बढेको एमालेले जनाएको छ ।

चितवनमा आयोजित एमालेको महाधिवेशन नियमित तालिकाभन्दा दुई दिन बढी लम्बिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव तामाङका अनुसार १० औं महाधिवेशनका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । ललितपुरको गोदाबरीमा आयोजित विधान महाधिवेशनमा ४ करोड ७१ लाख खर्च भएको समेत उनले जानकारी दिएका थिए । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन मंसिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा भएको थियो । बन्दसत्र मंसिर ११ गते पर्यटकीय नगरी सौराहमा सुरु भएको थियो । सहमतिमा नेतृत्व चयनको प्रयास सफल नभएपछि पूर्वनिर्धारित तालिका प्रभावित भयो ।

मंसिर ११ गते नै उम्मेदवारी दर्ता, दावी विरोध र अन्तिम नामावली प्रकाशन गर्ने, १२ गते निर्वाचन गरेर १३ गते विहानै चितवनमा पत्रकार सम्मेलन गरी महाधिवेशन समापन गर्ने एमालेको पूर्वनिर्धारित कार्यक्रम थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १२ गते दिनभरजसो नै सहमतीका लागि प्रयास गर्दा महाधिवेशन थप दुई दिन लम्बियो ।

नेतृत्वमा सहमति नजुटेपछि १४ गते विहानदेखि मतदान गरियो । निर्वाचित भएकाहरुको आजै सपथ ग्रहणको तयारी गरिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले आज सपथ ग्रहणको तयारी गरिएको बताए । यसका कारण अब महाधिवेशनको मैजारो १५ गते मात्रै हुनेछ ।

महाधिवेशनमा २१ सय ७५ प्रतिनिधि, स्वयमसेवक र अतिथि गरी ३५ सय जनाका लागि होटल बुक गरिएको छ । त्यसमा प्रतिनिधि बसेको होटलले थप तीन छाक खाना खुवाउने सम्झौता गरिएको छ । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

मूल व्यवस्थापन समिति सहसंयोजक पाण्डेका अनुसार सोमबार दिउँसो र बेलुकाको खाना, मंगलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्ने गरी अर्को सम्झौता गरिएको छ । थप एक दिन खाना र बेडको लागि करिब ७० लाख रुपैयाँमा सम्झौता भएको छ ।