TRENDING

बन्दका कारण सार्वजनिक सवारी साधन नचल्दा यात्रुहरुलाई सास्ती

काठमाडौं । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण सार्वजनिक सवारी साधनहरू नचलेपछि यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

सार्वजनिक गाडीहरू कममात्रामा चल्दा गन्तव्यमा जाने चाहनेहरुले सास्ती पाएका छन् । बाहिरबाट काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुल गायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।

उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि हिजाको तुलनामा निकै कम मात्रमा चलेका छन् । काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।