TRENDING

इङ्ल्यान्डको जितमा केनको ह्याट्रिक, विश्वकप छनोट नजिक

काठमाडौं । ह्यारी केनको ह्याट्रिकप्रेरित इङ्ल्यान्डले शनिबार राति विश्वकप छनोटमा अल्बानियामाथि ५–० विजय हासिल गरेको छ । जितसँगै इङ्ल्यान्ड कतार विश्वकप नजिक पुगेको छ ।

इङ्ल्यान्डले अब समूहको अन्तिम खेलमा सन मारिनोविरुद्ध बराबरी गरेमात्र पुग्छ । इङ्ल्यान्डले अब सोमबार सन मारिनोको भ्रमण गर्नेछ ।

जितपछि इङ्ल्यान्ड २३ अंकका साथ शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको पोल्यान्डभन्दा तीन अंकले माथि हो । पोल्यान्डले अब अन्तिम खेल हंगेरीविरुद्ध खेल्नेछ । पोल्यान्डले सिधै विश्वकपमा स्थान बनाउन जितेर मात्र पुग्दैन ।

इङ्ल्यान्ड हार्नुपर्छ र आफैले पनि फराकिलो अन्तरमा जित निकाल्नुपर्छ । तर, तुलनात्मक रुपमा कमजोर सन मारिनोविरुद्ध इङ्ल्यान्ड हार्ने सम्भावना एकदमै कम छ । त्यसकारण समूह ‘आई’बाट इङ्ल्यान्ड विश्वकपमा छनोट हुने लगभग पक्का जस्तै भएको छ ।

लन्डनस्थित वेम्बली रंगशालामा इङ्ल्यान्डले ह्यारी म्यागुएरको गोलबाट अग्रता लिएको थियो । १८औं मिनेटमा केनले अग्रता दोब्बर बनाए । २८औं मिनेटमा जोर्डन हेन्डरसनले तेस्रो गोल थपे । ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका केनले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थप्दै ह्याट्रिक गरे । पहिलो हाफमा गरेको पाँच गोल नै इङ्ल्यान्डको जितमा पर्याप्त बन्यो ।

यससँगै केनले इङ्ल्यान्डका लागि ४४ गोल गरेका छन् । जुन वायन रुनीको भन्दा ९ गोलले पछाडि हो । तथापि टोटनहमका केन क्लबमा भने गोल गर्न संघर्षरत छन् ।

समूह ‘आई’ कै अर्को खेलमा पोल्यान्डले दश खेलाडीमा सीमित एन्डोरालाई ४–१ ले हरायो । पोल्यान्डका लागि रोबर्ट लेवनडोवस्कीले दुई गोल गरे । रिकार्ड फर्नान्डेजले पहिलो मिनेटमै रातो कार्डको सामना गरेपछि एन्डोरा दश खेलाडीमा सीमित बनेको थियो । पोल्यान्डका लागि अरु गोल कामिल जोविक र आर्कडिउज मिलिकले गरे । एन्डोराका मार्क भालेसले गोल गरे ।

समूह ‘आई’ कै अर्को खेलमा हंगेरीले सन मरिनोलाई ४–० ले हरायो ।

यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको डेनमार्कले समूह ‘एफ’मा सतप्रतिशत नतिजा निकाल्ने क्रममा गएराति फारोइ आइसल्यान्डलाई ३–१ ले हराएको छ । डेनमार्कको जितमा आन्द्रेस स्कोभ ओल्सन, जाकोब ब्रुन लार्सन र जोकिम माचलेले गोल गरे । फारोइ आइसल्यान्डका क्लामिन्ट ओल्सेनले गोल गरे ।

जितपछि डेनमार्कले ९ खेलबाट २७ अंक जोडेको छ । जुन दोस्रो स्थानको स्कटल्यान्डभन्दा सात अंकले माथि हो । स्कटल्यान्डले माल्डोभालाई २–० ले हरायो ।

तेस्रो स्थानमा रहेको इजरायल गएराति अष्ट्रियासँग ४–२ ले पराजित भयो । अष्ट्रिया र इजरायलको समान १३ अंक छ ।