

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ बिहीबारबाट शुरू गरिएको छ ।
जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण सङ्कलन गरेर जनगणना शुभारम्भ गरिएको छ ।
पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ । केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना शुरू गरिए पनि देशैभर जनगणना प्रारम्भ गरिएको छ । शुरूकै दिन करिब १५ लाख व्यक्तिको गणना गरिएको जानकारी केन्द्रीय तथ्याङ्क विभागले दिएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति कार्यालयमा पुगेर जनगणनाको विवरण सङ्कलन गर्नुभएको थियो । विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई बताए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिक रूपमा सन्देश दिन तथ्याङ्क लिइएको हो । जनगणना लिएको सबै तथ्याङ्क गोप्य राखिनेछ ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराउनुभएको थियो । यसैगरी गणकले सोध्नुभएको प्रश्नअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपति पुनले राष्ट्रिय जनगणना–२०७८ को सफलताको शुभकामना दिनुभयो । उहाँले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रदेशस्तरमा खटिएका गणक र सुपरिवेक्षकले पनि सम्बन्धित प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, पालिकाका प्रमुखको विवरण सङ्कलन गरेर जनगणना शुरू गरिएको विभागले जनाएको खबर गोरखापत्र दैनिकमा छ । जनगणनालाई राष्ट्रिय अभियानका रूपमा शुभारम्भ भएको सकारात्मक सन्देश प्रवाह गर्न विभागले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका प्रदेश र स्थानीय तहका प्रमुखहरूको विवरण सङ्कलन गरिएको जानकारी विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले जानकारी दिए।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७