

काठमाडौं । नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ ।
कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला हुँदै युवा नेता कल्याण गुरुङसम्म अघि सरेका छन् ।
सभापतिका लागि देउवाले नै नेतृत्व गर्दै आएको हालको संस्थापन समूहबाट मात्रै तीन जना आकांक्षी देखिएका छन् । देउवालाई हालका उपसभापति विमलेन्द्र निधिले चुनौती थपिदिएका छन् भने नेता गोपालमान श्रेष्ठ पनि मैदानमा उत्रने संकेत गरिरहेका छन् । यसले कांग्रेसभित्रको संस्थापन समूहमा पनि विभाजनको अवस्था देखाएको छ ।
यसैगरी, संस्थापन इतर समूहबाट पौडेलसँगै हालका महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर केइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा दाबी गर्दै आइरहेका छन् । यो समूहभित्र पनि एकल उम्मेदवार बन्ने अवस्था छैन ।
यसैगरी १३औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता सिटौलाले पनि यसपटक आफू टिम बनाएरै मैदानमा उत्रिने घोषणा गरिसकेका छन् ।
‘म पार्टी नेतृत्वका लागि टिमसहित मैदानमा होमिने तयारीमा छु,’ सिटौलाले राजधानीसँग भने ।
यस्तै, युवा नेता गुरुङले पनि पार्टीलाई नयाँ तरिकाबाट अघि बढाउन आवश्यक रहेको भन्दै पुरानो शैलीले अब पार्टी नचल्ने र सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।
महाधिवेशनमा होमिएको कांग्रेसको नेतृत्वका लागि सभापति देउवालाई आफ्नै समूहबाट अप्ठ्यारो पर्ने अवस्था बन्दै गइरहेको छ भने इतर समूहमा पनि एकले अर्कालाई स्वीकार्ने अवस्था देखिएको छैन ।
केही दिनअघि पूर्वमहामन्त्री सिंहले त देउवा र पौडेलबाट पार्टी नचल्ने र उनीहरूले पार्टीलाई नेतृत्व दिन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
कांग्रेस उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच मिलेर अघि बढ्ने विषयमा चरणबद्ध रूपमा आलोपालो गरी एकअर्काको निवासमा छलफलसमेत हुँदै आइरहेको छ । यसरी हेर्दा अबको महाधिवेशनमा कांग्रेसभित्रको पुराना गुट भत्कने र नयाँ समूहबीचमा समीकरण बन्ने अवस्था देखिँदै गइरहेको छ ।
कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने १३ जिल्लामा जिल्ला तहको नेतृत्वसमेत छानिसकेको छ । बाँकी १३ जिल्लाको वडा अधिवेशन कांग्रेसले भोलि शनिबार गर्दै छ ।
अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवारहरू मैदानमा छन् ।
कांग्रेसको गत १३औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा नेतृत्व चयन नभएपछि सिटौला बाहिरिएका थिए भने दोस्रो चरणमा सिटौलाले देउवालाई साथ दिएपछि देउवा पौडेललाई हराउँदै सभापति निर्वाचित बनेका थिए । राजधानी दैनिकमा खबर छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७