TRENDING

उद्योग परिसंघमा स्टार्टअप्स अभियान समिति गठन

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स) प्रवर्द्धन गर्न स्टार्टअप्स अभियान समिति गठन गरेको छ । युवा उद्यमी आयुषी केसीको नेतृत्वमा गठन भएको समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा परिसंघका उपाध्यक्ष रोहित गुप्ता रहेका छन् ।

नेपालमा स्टार्टअप्सलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले समिति गठन गरिएको परिसंघले जनाएको छ । समितिले नेपालमा स्टार्टअप्सको निरन्तर प्रवर्द्धनको काम गर्नेछ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यमा काम गर्न सक्ने बताए ।

“अहिले व्यवसायमा परिवर्तन भइहेका छन् । यसै समितिमार्फत मेन्टरसिपको काम गर्न सकिन्छ,” उनले भने “सरकारले ५ ओटासम्म स्टार्टअप्सलाई एक लाख रुपैयाँका दरले प्रदान गर्न सकिने भनेको छ, त्यसमा पनि यस समितिले काम गर्न सक्छ ।”

परिसंघका उपाध्यक्ष रोहित गुप्ताले यस समितिमार्फत व्यवसायमा आएका नयाँनयाँ सोचबारे सदस्यहरूलाई जानकारी गराउने बताए ।

समिति सभापति केसीले कोरोना महामारीका कारण २५ प्रतिशत स्टार्टअप्स बन्द भएको भन्दै यस्ता व्यवसायको सफलताको दर असाध्यै कमजोर रहेको बताइन । उनले सन् २०२२ को मार्चभित्रमा नेपालमा स्टार्टअप्स सम्मेलन गर्ने सोच समितिको रहेको जानकारी गराइन् ।

समितिको सहसभापतिमा चाङ अग्रवाल छन् । समिति सदस्यहरूमा सागरदेव भट्ट, अमुन थापा, रूपेशकृष्ण श्रेष्ठ, मनिष श्रेष्ठ, प्राची अग्रवाल, तेजिङ गोन्सरडा मनिष थापा,लतिका गोल्यान, शिखर पण्डित, सुमन रायमाझी र इमरान अली रहेका छन् ।

cni