TRENDING

सानो राष्ट्रको जमिन ठूलोकोमा पर्‍यो भने हालत खराब हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहालले ठूलो राष्ट्रले सानो राष्ट्रको जमिन मिच्‍न नहुने बताएका छन् । उनले सानो राष्ट्रको जमिन ठूलो राष्ट्रले मिचेमा दुई मुलुकबीच समस्या उत्पन्न हुने बताएका हुन् ।

दाहालले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताए ।

नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले लेखेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा दाहालले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा दाहालले भौगोलिक रूपमा ठूलो राष्ट्रले सानो राष्ट्रको जमिन मिच्न नहुने बताएका थिए । उनले भने, ‘ठूलो राष्ट्रको जमिन पनि धेरै छ । जनसंख्या पनि धेरै छ । ठूलो राष्ट्रले सानो राष्ट्रलाई थोरै-थोरै जमिन सानोको उतापट्टी पस्यो भनेपनि खासै फरक पर्दैन । सानो ठूलोकोमा पस्यो भने त हालत खराब हुन्छ नि सानोको त ।’

भारतीय नेतृत्वले नेपालको जमिन मिच्न नहुने कुरा बुझ्नुपर्ने दाहालको भनाइ थियो । उनले भने, ‘यो संवेदनशीलतालाई पनि भारतीय नेतृत्वले, भारतीय बुद्धिजिवीहरूले गहिरो गरी समीक्षा गर्नुपर्दछ भन्ने मलाई लाग्छ । सिमानाका जे-जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरू छन् । ती संवादको तरिकाद्वारा, उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् ।’

नेपाल र भारतबीच इतिहास, भूगोल, संस्कृति, अर्थतन्त्र, जनता जनताको सम्बन्धले जोडेको दाहालको भनाइ थियो । त्यसलाई दुवै मुलुकको नेतृत्व मिलेर एक अर्काको संवेदनशीलतालाई ध्यान दिएर सकरात्मक र रचनात्मक ढंगले समाधान गर्दै अगाडि जानुपर्ने उनको भनाइ थियो ।

दाहालले भारतले नेपालको राष्ट्रिय चासोमा बाधा नभई सहयोग पुर्‍याएमा राम्रो मित्रता हुने पनि बताए । उनले भने, ‘यदि नेपालको राष्ट्रिय चासोमा भारतले बाधा होइन, सहयोग पुर्‍याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ ।’

prachanda