TRENDING

विराटनगर विमानस्थल अझै जलमग्न

काठमाडौं । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन ।

भारी वर्षाका कारण डुबानमा परेको विमानस्थलको पानी नघटेपछि यहाँबाट हुने हवाई सेवा सुचारु हुन केही दिन लाग्ने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले छिटोमा आगामी शनिबारदेखि मात्र हवाई सेवा सुचारु हुन सक्ने विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिए।

हिजोदेखि वर्षा रोकिए पनि डुबानको क्रममा जम्मा भएको पानीको सहज निकास हुन नसकेका कारण समस्या रहेको उहाँको भनाइ छ । हवाई उडान र अवतरण कहिलेबाट नियमित हुने टुङ्गो नभए पनि मौसम सफा हुँदै गएको तथा विमानस्थलको पानी सुक्दै गए शनिबारदेखि हवाई सेवा सञ्चालन गर्न सकिने बताइएको छ ।

विमानस्थल पूर्ण रूपमा डुबानमा परेपछि गत मङ्गलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका छन् । गोरखापत्र दैनिकमा सचिन पोख्रेलले खबर लेखेका छन् ।