TRENDING

बागमती प्रदेशको नेतृत्वमा पाण्डे र बानियाँबीच आलोपालो गर्ने सहमति

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेस बीच बागमती प्रदेश सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको छ । आज सम्पन्न विपक्षी गठबन्धनमा रहेका दलहरुबीचको बैठकले यस्तो निर्णय गरेको हो । सहमति अनुसार प्रदेशसभाको कार्यकालको आधा आधा समय सहमतिमा नेतृत्व गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले प्रदेशसभाको आधा कार्यकाल एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा समर्थन गर्ने र बाँकी आधा कार्यकाल कांग्रेसका ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुने सहमति भएको बताएकी छन् । यसैगरी नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले प्रदेशसभाको कार्यकालको आधा–आधा समय एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने सहमति भएको बताएका छन् ।

‘यो माथि (गठबन्धनको शीर्ष तहमै) नै टुंगिएर आएपछि हामीले गर्ने त्यही हो’ उनले भने, ‘माथिबाट आधा आधा कार्यकाल एकीकृत समाजवादी र कांग्रेसले लिने सहमति भएर आएको छ ।’

यता नेकपा एकीकृत समाजवादीका नेताहरुले भने मुख्यमन्त्री पद आधा आधा कार्यकाल बाडफाँट गर्ने सहमतिबारे अनभिज्ञता प्रकट गरेका छन् । एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले आलोपालाको सहमति नभएको जिकिर गरे ।

बिहीबार गठबन्धनका दलहरुबीच ३ बुँदे सहमति भएको र त्यसमा बजेट, मन्त्रिपरिषद गठन र राजनीतिक नियुक्ति सहमतिका आधारमा गर्ने उल्लेख गरिएको उनले बताए । ‘३ बुँदे सहमति भएको हो, अरु कुरा थाहा छैन’ लम्सालले भने ।

हाल बागमतीमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छिन् । उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा विचाराधीन छ । अब उक्त प्रस्तावमा कात्तिक १० गते मतदान हुनेछ । २०७४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट गठन भएको बागमती प्रदेशसभाको कार्यकाल अब एक वर्ष र केही महिना बाँकी छ ।