TRENDING

प्रहरी समायोजनको कार्य छिटो सम्पन्न होस्ः मन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजय क्रान्ति शाक्यले प्रहरी समायोजनको कार्य यथाशिघ्र छिटो सम्पन्न गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शाक्यले यस्तो माग गरेका हुन् ।

‘बागमती प्रदेश सरकारले प्रहरी ऐन बनाइसकेको छ,’ मन्त्री शाक्यले भने, ‘प्रहरी ऐन बनिसकेपछि पनि प्रहरी समायोजन हुन नसकेको अवस्था हामी माझ छ । यस्तो अवस्थामा प्रहरी समायोजनको कार्य यथाशिघ्र छिटो गर्न नेपाल सरकारसँग माग गर्दछु ।’

उनले नेपाल सरकारले प्रहरी समायोजन गर्न ढिलो गरिरहेको अवस्थामा समेत बागमती प्रदेश सरकारले आफ्नो दायित्व पूरा  गरिरहेको पनि स्पष्ट पारे ।

‘प्रदेश प्रहरीका भौतिक संरचना, विभिन्न साधन स्रोत खरीद र क्षमता अभिबृद्धि लगायतका क्षेत्रमा विभिन्न तवरले सहयोग पुर्‍याउँदै आइरहेका छौं र पुर्याइरहने छौं,’ मन्त्री शाक्यले भने, ‘बागमती प्रदेश प्रहरीका लागि अहिलेसम्म ४० वटा भन्दा बढी प्रहरी भवनहरु निर्माण गरिसकेका छौं । यो बर्ष पनि प्रहरी भवनहरु निर्माण गर्न करीब ४५ करोड बजेट राखेका छौं ।’ उनले आवश्यक उपकरणहरु खरीद गर्न, जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु गर्न समेत उल्लेख्य सहयोग गरेको स्मरण गराए ।

मन्त्री शाक्यले स्थापनाकालदेखि नै नागरिकको सुरक्षार्थ आइपरेका चुनौतीलाई सामना गर्ने क्रममा अपूर्व साहस र बहादुरी देखाउँदै आएको नेपाल प्रहरी जस्तो सुकै विषम परिस्थितिमा पनि राज्यले सुम्पिएको उत्तरदायित्वलाई कर्तव्य सम्झि अदम्य साहस, वीरता र धैर्यताका साथ कर्तव्य पालनको क्रममा ज्यानको बलिदान दिएको इतिहास सर्वविदितै रहेको स्मरण गराए ।

उनले प्रहरी सदैव चनाखो भई साधन–स्रोत सम्पन्न हुनुपर्दछ भन्दै  प्रहरी समायोजनको कार्य यथाशिघ्र सम्पन्न भएको अवस्थामा बागमती प्रदेश सरकार प्रहरीलाई पूर्ण रुपमा साधन स्रोतले सम्पन्न बनाउन सकिने बताए ।

‘प्रहरी समायोजनको कार्य सम्पन्न भएको अवस्थामा अपराध न्यूनीकरण गर्न, दूर्घटनाहरु न्यूनीकरण गर्न र शान्ति–सुरक्षा चुस्त–दुरुस्त राख्न हामी सक्षम छौं,तयार छौं,’ उनले भने, ‘ नेपाल प्रहरीमा आवद्ध सम्पूर्ण प्रहरी कर्मचारीलाई व्यवसायिक र कर्तव्यनिष्ठ पथमा लम्किन आग्रह गर्दछु । सवैले आ–आफ्नो कर्तव्य पूर्णरुपमा पालना गरे अपराध आफै न्यून हुँदै जानेछ ।’

कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि सम्वोधन गरेकी थिइन् ।  कार्यक्रममा प्रहरी महानिरीक्षकको सम्वोधन बाचन गरिएको थियो ।

त्यसैगरी प्रहरी दिवसको अवसरमा ३ सय ६७ जना प्रहरी र कर्मचारीले रक्तदान गरेका थिए भने १  हजार ९३ प्रहरी र कर्मचारीले धार्मिक स्थलको सरसफाई गरेका थिए ।

सो दिवसकै अवसरमा ‘एक प्रहरी एक विरुवा’ अभियान सञ्चालन गरिएको थियो । सो अभियान अन्तरगत ३ हजार १ सय ७९ विरुवा रोपिएको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ ।