TRENDING

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

बुटवल । आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत परेको थियो । उपसभामुख कृष्णी थारु तटस्थ रहिन् भने प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा कुनै मत परेको थिएन । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् । कुल ८० सांसदमध्ये ४३ जनाको उपस्थिति रहेको थियो ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वासको मत माग्दै मुख्यमन्त्ती केसीले प्रदेश सरकारको आवधिक योजना व्यवहारमा देखिने गरी कार्यान्वयन गर्ने बताए । त्यस्तै समृद्ध प्रदेश खुशी जनताको नारा जनताले अनुभूति गर्ने गरी काम गर्ने बताए ।

नेकपा एमालेले भने मुख्यमन्त्रीलाई समर्थन गर्ने अजय शाही र विमलाकुमारी खत्री वली आफ्नो दलको सांसद रहेको दावी गरेको छ । एमालेले उनीहरुले दलको ह्वीप नमानेको भन्दै निष्कासनको कारबाही गरी पदमुक्त गर्न प्रदेशसभामा जानकारीसमेत गराएको छ । तर सभामुख पूर्णबहादुर घर्तीले उनीहरु एमाले सांसद रहेको पुष्टि नभएको भन्दै कारबाही गर्न अस्वीकार गरेका छन् ।

एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने बताएको छ ।

२०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका अजय शाहीले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए । त्यस्तै २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालिन नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री वलीले पनि सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी थिइन् ।

सोही कारण एमालेले उनीहरु आफ्नो दलको सांसद भएको दावी गरेको छ । तर शाहीले नेकपा एमाले र माओवादी केन्द्र अलग भएपनि आफूले माओवादी केन्द्र रोजेको दावी गरेकी छन् ।