TRENDING

बालबालिकामा यस्तो लक्षण देखिए तत्काल अस्पताल लैजान चिकित्सकको सुझाव

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा हालसम्म करिब आधा दर्जन बालबालिका मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम (एमआईएस–सी) को संक्रमण भएर आएका बालरोग विशेषज्ञ डाक्टर अरुण शर्माले बताउनुभएको छ । यो रोग लागेका बालबालिकामा ज्वरो आउने, सास फेर्न गाह्रो हुने, वान्ता गर्ने, पखला हुने, शरीरमा डाबर आउने, प्रेसर लो हुने लगायतका समस्या देखिने गरेका छन् ।

यस्तै कान्ति बाल अस्पतालमा उपचारका लागि आएका बालबालिकामा पनि सो रोगको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताउनुभयो । लगातार तीन दिनदेखि ज्वरो आउने, शरीरमा डाबर देखा पर्ने, वान्ता वा पखाला हुने, रक्त नली सुनिने, आँखा रातो हुने, सास फेर्न गाह्रो हुने, प्रेसर लो हुने, ओठ रातो हुने र फुट्ने जस्ता लक्षण देखा परे तत्काल चिकित्सक कहाँ गएर उपचार गराउन चिकित्सकहरुले सुझाएका छन् ।

विशेषगरी कोरोना संक्रमण भएका बालबालिकामा संक्रमित भएकोे २ देखि ४ हप्तापछि यो रोगको लक्षण देखिने गरेको छ भने कोरोना नलागेका बालबालिकामा समेत संक्रमण फेला परेको डाक्टर शर्माले बताउनुभयो । यो रोगको संक्रमण पश्चात् बालबालिकाहरुको रक्तनली सुन्नीनुका साथै मुटु, फोक्सो, मृगौला, छाला लगायतका अंगमा सुन्निने लगायतका लक्षणहरु देखिन थाल्दछन् । समयमै उपचार गरेको खण्डमा उपचार खर्च महंगो भएतापनि नेपालमा नै उपचार सम्भव भएको जनाइएको छ ।

बालबालिकामा तल दिइएको मध्ये कुनै २ लक्षणहरु देखिए तत्काल परिक्षणका लागी लैजान चिकित्सकहरुले सुझाएका छन् ।

लक्षणहरु:

  • तीन दिनसम्म लगातार ज्वरो आउने
  • कमजोरी वा थकान महसुस हुने
  • शरीरमा रातो डाबर देखिने
  • पेट दुख्ने
  • घाँटी दुख्ने
  • वान्ता वा पखाला लाग्ने
  • छाला, ओठ वा नङ निलो हुने
  • आँखा रातो हुने
  • हातखुट्टा सुनिन्ने