TRENDING

धादिङमा बढ्यो कोरोना संक्रमण : स्वास्थ्यकर्मीहरु नै संक्रमित , खाली सिलिण्डर बोकेर अक्सिजन खोज्दै एम्बुलेन्स

धादिङ ।  कोभिड १९ को लागि तयार गरिएको अस्थायी कोभिड १९ अस्पताल धादिङमा जनशक्तिको अभाव भएको छ । जिल्लाका ४७ जना स्वास्थ्यकर्मी एवं कर्मचारीहरुमा संक्रमण पुष्टि भएसँगै आइसोलेशन सेन्टरमा जनशक्तिको अभाव भएको हो । कोरोना संक्रमण र सोहि कारण मृत्यूदर बढेसँगै जिल्लामा जोखिम चुलिँदै गएको छ । संक्रमित पहिचान हुँन नसक्दा कोरोना संक्रमण दर फैलँदो छ ।

एकजना मात्र स्वास्थ्यकर्मीको रोहबरमा जिल्ला अस्पतालले सेवा दिनुपरिरहेको छ । संक्रमित स्वास्थ्यकर्मीहरुले समेत सक्दो सेवा दिइरहेको अवस्था रहेको समेत जिल्ला अस्पताल धादिङले जनाएको छ । कम्तीमा पनि २०० बेडको अस्पताल तयार गर्नुपर्ने अवस्था रहेको धादिङमा हाल ५० वेडको आइसोलेसन अस्पताल मात्रै छ । स्वास्थ्यकर्मी आफैं संक्रमित हुँदा सेवा प्रवाह कठिन भएको छ । दैनीक २० वटा अक्सिजन सिलिण्डर प्रयोगमा आउने जिल्ला अस्पतालमा हाल ६५ वटा मात्रै सिलिण्डर रहेका छन् ।

खाली सिलिण्डर काठमाडौंबाट भरेर ल्याउँनका लागि छुट्टै साधन नहुँदा २ वटा एम्बुलेन्सले सो काम गरिरहेका छन् ।

बैशाख २६ गते सम्म जिल्ला भित्र ४४ केश देखिएको छ । जिल्ला अस्पताल धादिङमा ३१, गल्छीमा ४, गजुरीमा १, बेनिघाट रोराङ्गमा ३ र रुबिभ्यालिमा ५ गरेर कुल ४४ संक्रमित भएको तथ्यांक छ । जिल्ला बाहिरको पोजिटिभ केश ३७ रहेको छ।  डिस्चार्ज हुनेको संख्या १० रहेको छ।

बैशाख २४ गते कोभिडको कारण धादिङ गजुरीका ३८ वर्षीय पुरुषको मृत्यु भएको थियो भने बैशाख २६ गते निलकण्ठ नगरपालिकामा १ जना ७५ वर्षका  पुरुषको मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

जिल्ला भित्रको सक्रिय केश ४ सय ८० र जिल्ला बाहिरको सक्रिय केश २ सय ९ गरेर धादिङ्ग जिल्लाको जम्मा सक्रिय केश ६ सय ८९ पुगेको छ।
हिजो अर्थात् बैखाख २६ मा निलकण्ठ नगरपालिकामा १ सय ९, गल्छी गाउपालिकामा ४१ र गजुरी गाउपालिकामा १० गरेर जम्मा १ सय ६० जनाको स्वाब संकलन गरिएको बताइएको छ । संक्रमित मध्ये १९ जना अस्पतालको आइसोलेसनमा छन् भने अन्य २१ जना होम आइसोलेसनमा रहेका छन् । अस्पतालको आइसोलेसनमा अहिले ३३ जना संक्रमितहरु छन् ।