

काठमाडौं । अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो ।
भरतपुर अस्पतालका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले पहिलो लहरमा ११० जना बिरामी भर्ना हुँदा २० जनालाई अक्सिजन लगाउनुपरेको तर अहिले भर्ना हुने सबैलाई अक्सिजन दिनु परेको बताउनुभयो । गत वर्ष उमेर बढी र दीर्घरोगीमा सङ्क्रमण बढी देखिएको भए पनि अहिले सबै उमेर समूह प्रभावित छन् । सामान्य अवस्थाका सङ्क्रमित घरमै बसेका छन् भने जटिल अवस्था आउनासाथ अस्पताल आउने गरेका छन् ।
उहाँका अनुसार पहिलो लहरमा ‘माइल्ड’, ‘मोडरेट’ र ‘सिभर’ वर्गीकरण गरेर उपचार गरिएकामा अहिले एउटै बिरामी ४८ घण्टामा माइल्डबाट मोडरेट अनि सिभर भएर घरको आइसोलेशनबाट एचडियु हुँदै सघन उपचार कक्षमा सार्नुपरेको छ । जुनसुकै बेला सङ्क्रमितलाई अस्पताल भर्ना गरेर अक्सिजन दिनु परेको उहाँको भनाइ छ ।
अस्पतालका कोभिड व्यवस्थापन समूहका संयोजक डा प्रमोद पौडेल कतिपयले घरमा समेत अक्सिजन लगाएको जानकारीमा आएको बताउनुहुन्छ । अस्पतालमा भर्ना भएका अधिकांशलाई अक्सिजन दिनुपरेको उहाँले जानकारी दिनुभयो । उहाँको भनाइमा अस्पतालमा रहेको हाइफ्लो नेजल क्यानुलाबाट समेत सङ्क्रमितलाई अक्सिजन दिइँदै आएको छ । भरतपुर अस्पतालमा यस्ता उपकरण १० वटा छन् । यसले एक मिनेटमा साठी लिटरसम्म अक्सिजन दिन सक्छ । पौडेलले भन्नुभयो, “हामीले अक्सिजन प्लान्टबाट सोझै क्यानुलामार्फत बिरामीलाई अक्सिजन दिने गरेका छौँ ।”
अत्यधिक अक्सिजन आवश्यक पर्ने बिरामीलाई यस उपकरणमार्फत अक्सिजन दिइँदै आएको छ । साधारण लक्षण भएका सङ्क्रमित घरमै बस्ने र जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलनका कारण आएका सबैलाई अक्सिजन दिनु परेको चिकित्सकहरु बताउँछन् ।
चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अस्पताल ल्याउनुपर्ने सङ्क्रमित एम्बुलेन्समै अक्सिजन लगाएर आएपछि नियमित अक्सिजन लगाउनुपर्ने अवस्था आएको बताउनुहुन्छ । पहिलो लहरमा अस्पतालमा आउने सङ्क्रमितमध्ये ९० प्रतिशत सामान्य थिए भने अहिले ९० प्रतिशत जटिल हुने गरेका छन् । ती सबैलाई अक्सिजनको सहायताले उपचार गर्नुपरेको छ ।
जिल्लामा कोभिडको उपचार गर्ने भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस सबैको आफ्नै अक्सिजन प्लान्ट छ । तिनै प्लान्टबाट सेन्ट्रल सप्लाईमार्फत सङ्क्रमितलाई अक्सिजन दिइँदै आएको छ । तत्कालका लागि यहाँ अक्सिजनको अभाव भने नभएको चिकित्सकहरुले बताएका छन् ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७