

-प्रकाश मिश्र
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि अत्यन्तै प्रभावित बनेको छ । राजधानी काठमाडौँलगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएका छन् । दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित थपिँदै छन् भने दैनिक मृतकको सङ्ख्या दुई अङ्ककै छ । तैपनि पहिलो चरणमा जस्तो कोरोना सङ्क्रमित र उनीहरूका परिवारले अहिले सामाजिक अपहेलना भोग्नु परेको छैन ।
पहिलो चरणको कोरोना महामारी फैलिएको बेला गत वर्ष कोरोना भएका मात्र हैन कोरोना निको भइसकेकाहरू र उनीहरूका परिवारका सदस्यहरूले सामाजिक अपहेलना भोग्नु पथ्र्यो तर अहिले सङ्क्रमितहरु पनि कुनै अपहेलनाविना होम आइसोलेशनमा बसिरहेका छन् । घरेलु उपाय अपनाएर कोरोनासँग लडिरहेका छन् । गत वर्ष कोरोना सङ्क्रमण फैलिँदाको अवस्था सम्झँदै कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले भन्नुभयो, “त्यति बेला त कोरोना लागेका र भारतबाट आएकाहरू मान्छे नै होइनन् जस्तो व्यवहार समाजमा देख्दा हामीलाई व्यवस्थापन गर्न निकै समस्या थियो । तर पहिलो चरणको कोरोना फैलिरहँदा मानिसहरूमा कोरोना सङ्क्रमितलाई हेर्ने जुन नजरिया थियो त्यो अहिले बदलिएको छ ।”
पहिलो चरणमा कोरोना सङ्क्रमित त छोडौँ कोरोना जितेका व्यक्तिका परिवार नै सामाजिक क्रियाकलापमा सहभागी हुन पाउँदैन थिए । उनीहरू रोगलाई पराजित गरिसक्दा पनि समाजमा स्थापित हुन निकै समस्या थियो तर अहिले त्यस्तो छैन भन्दै उहाँले अहिले हाम्रा स्वाथ्यकर्मीहरुले सम्झाइबुझाइ गर्दा स्थानीयवासी मान्नुहुन्छ त्यसैले अहिले अलि सजिलो भएको बताउनुभयो । अघिल्लो पटक कोरोना सङ्क्रमित बिरामीको उपचार गरेर डेरा फर्कंदा वरपर त्रासको माहोल हुन्थ्यो आफूलाई पनि चिन्ता हुन्थ्यो तर अहिले त्यस्तो किसिमको चिन्ता नरहेको उहाँको भनाइ छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स सुस्मा विकले भन्नुभयो, “अहिले कोरोना सङ्क्रमित द्रुत गतिमा बढिरहेको छ र ज्यान पनि धेरैले गुमाउँदै हुनुहुन्छ, उहाँहरुलाई बचाउन नसक्दा चाहिँ मन अमिलो हुने गरेको छ ।” यसरी कोरोना सङ्क्रमणको ग्राफ बढे पनि समाजमा अहिले आफूहरूको कामलाई लिएर पहिले जस्तो त्रास र अपहेलनाको अवस्था नभएका कारण काम गर्न लाग्ने डर भने हराएको उहाँको भनाइ छ । गएको वर्ष कोरोना महामारीका कारण भारतबाट आफ्नो जन्मभूमि आउँदा पाएको दुःख र आफ्नै ठाउँमा गरिएको व्यवहार सम्झने हो भने त अहिले पनि मन भक्कानिएर आउने गरेको कैलालीको घोडाघोडी नगरपालिका–११ का ठागुराम कठरियाले बताउनुभयो । उहाँले त्यति बेला भारतबाट आएका मानिस भनेपछि समाजमा एक किसिमको आतङ्क हुन्थ्यो भन्नुभयो । अहिले समाजमा त्यस्तो किसिमको आतङ्क नरहेको र सङ्क्रमित भएका भए पनि होम आइसोलेशनमा बस्न आफूहरूले सुझाउने गरेको उहाँको भनाइ छ ।
कोरोना सङ्क्रमण देखिएर अहिले होम आइसोलेशनमा बसिरहनुभएका कैलालीको घोडाघोडी नगरपालिका–१० का एक सङ्क्रमित पहिलेको जस्तो अवस्था भएको भए अहिले आफू होम आइसोलेशनमा बस्न नसक्ने स्थितिमा रहने बताउनुभयो । कोरोनाका बारेमा समाजमा फैलाइएको अपवाह नै खतरनाक साबित भएको उहाँको भनाइ छ । अहिले वरपरका छिमेकीले परिवारका सदस्यलाई आफ्ना बारेमा चिन्ता लिएको देख्दा साँच्चै समाजमा रहेको त्यो सोच चिरिए झैँ लाग्ने गरेको उहाँले बताउनुभयो । आफू सङ्क्रमित हुँदा पहिलेको जस्तै अवस्था होला कि भन्ने पीरले सताए पनि त्यस्तो व्यवहार नपाउँदा आनन्द लागेको उहाँको भनाइ छ । उहाँले समाजमा एकअर्कालार्ई परेको खण्डमा काँधमा काँध मिलाउने नेपाली संस्कार जीवितै रहेको महसुस भएको उल्लेख गर्नुभयो ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७