TRENDING

लिफ्टबाट खानेपानी वितरण गरिने

सिन्धुपाल्चोक । खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोक वासीलाई लिफ्ट खानेपानी आयोजनाबाट पानी वितरण गरिने भएको छ । साँगाचोकमा सञ्चालित आयोजनाको पानी आगामी वैशाख देखि उपभोक्तालाई उपलब्ध गराउने गरी काम भइरहेको जनाइएको छ ।

कूल रु १८ करोड लागतमा निर्माण भइरहेको आयोजनाबाट गत असारमा सम्पन्न गर्ने गरी दुई वर्षको अवधि तोकी ठेक्का सम्झौता भए पनि कोभिड–१९ महामारीका कारण १० महिनापछि सरेको हो । वैशाखमा उपभोक्ताको घर घरमा पानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले बताउनु भयो ।

उक्त आयोजनाबाट चौतारा साँगाचोकगढी नगरपालिका–१०, ११ र १२ का कूल दुई हजार २२२ घरपरिवारले निजी धारा जडान गरी स्वच्छ पानी उपभोग गर्न पाउनेछन् । विसं २०७२ को भूकम्पले साविकको मुहान सुकेपछि खानेपानीको चरम अभाव भोगिरहेका स्थगानीयवासीले गाउँ भन्दा तल पर्ने जादेखोला टुनीबोट मुहानबाट पानी ल्याउने योजना शुरु गरिएको थियो । मुहानको पानीलाई एकैपटक माथि तान्न सम्भव नभए पछि बीचमा इन्टेक बनाई चार तहबाट पानी तानेर त्यहाँदेखि एक किलो मिटरको विद्युत् शक्तिबाट प्रतिसेकेण्ड १० लिटर पानी सङ्कलन गरिनेछ । त्यसरी सङ्कलित पानीलाई शुद्धीकरणका लागि प्रशोधन केन्द्रमार्फत ५० देखि दुई लाख लिटर क्षमताका १४ वटा ट्याङ्कीद्वारा वितरण गरिने छ । पानी तान्नका लागि ५० र १०० केभीएको चार ट्रान्सफर्मर जडान गरिएको छ ।

उक्त आयोजनाका लागि मूल्य अभिवृद्धिकर ९भ्याट० बाहेक रु १५ करोड ६८ लाखमा विसं २०७५ असारमा सगरमाथा कन्स्ट्रक्शन कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । पटक–पटक गरी १५ प्रतिशत भेरिएशन अडरबाट झण्डै रु साढे दुई करोड थप भई कूल लागत रु १८ करोड पुग्न गएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।