TRENDING

वसन्तपञ्चमी उत्साहका साथ मनाइँदै

काठमाडौ । वसन्त ऋतुको आगमनका साथ विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको आज बिहानैदेखि पूजापाठ भइरहेको छ ।

ज्ञान, बुद्धि र विवेकका लागि श्रद्धाका साथ जनकपुर धामलगायत विभिन्न ठाउँका घर–घरमा विद्यार्थी, कलमजीवीहरुले ज्ञान, बुद्धि र विवेकका लागि विद्याकीदेवी सरस्वतीको अपार श्रद्धाका साथ ूजापाठ गरिरहेका छन् ।

धार्मिक एवं सांस्कृतिक पर्व रुपमा मनाइने वसन्तपञ्चमीमा सरस्वती मन्दिरका साथै विभिन्न टोलमा माटोको कलात्मकमूर्तिमा आज विधिवत् रुपमा प्राण प्रतिष्ठा गरी उत्साह एवं उल्लासमय वातावरणमा पूजापाठ गरिरहेका छन् । विद्यार्थीहरुले बिहानै स्नान गरी आ–आफ्ना घरमा पुस्तक र कलमको अनिवार्य रुपमा पूजा गर्ने गर्छन् । सो अवसरमा बुनिया, बयर र शखरखण्ड र सुन्तला अनिवार्य रुपमा प्रसादको रुपमा चढाउने गरिन्छ ।

हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्लपञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवीसरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ ।

सोही कारणले आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीहरु यो पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । आजका दिन ज्ञान बुद्धि र उन्नतिका लागि बालवालिकालाई अक्षराम्भको शुभारम्भ पनि गरिन्छ । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभ कार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।