TRENDING

घट्यो अण्डाको मूल्य, प्रतिक्यारेट कतिमा झर्यो ?

काठमाडौं । अण्डाको गेट मूल्य घटेको छ । नेपाल अण्डा उत्पादक संघले दिएको जानकारीअनुसार करीब १ सातायता अण्डाको गेट मूल्य घटेको हो । ठूलो अण्डाको गेट मूल्य प्रतिक्यारेट १५ रुपैयाँले घटेर ३ सय ४० बाट ३ सय २५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी सानो अण्डाको मूल्य प्रतिक्यारेट ३ सय १० रुपैयाँबाट घटेर ३ सय रुपैयाँ कायम भएको छ । तर, उपभोक्ताले प्रतिक्यारेट ४ सय रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ ।

घटेको मूल्यअनुसार उपभोक्तालाई व्यापारीले सानो अण्डाको मूल्य बढीमा प्रतिअण्डा १२ रुपैयाँ र ठूलो अण्डा १३ रुपैयाँसम्ममा विक्री गर्नुपर्ने हो । तर, व्यापारीले सानो र ठूलो दुवै अण्डाको मूल्य प्रतिगोटा १५ रुपैयाँसम्मले विक्री गरिरहेको पाइएको छ । अहिले अण्डाको उत्पादन बढेकाले मूल्य घटेको संघले बताएको छ ।

नेपाल अण्डा उत्पादक संघमा यति बेला ३ हजारभन्दा बढी अण्डा उत्पादक किसानहरू आबद्ध रहेका छन् भने नेपालमा वार्षिक करीब १ अर्ब ५० करोड गोटा अण्डा उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।

केही दिनअघि मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा गएबापत भत्ता नपाएमा अनुगमनमा नजाने चेतावनी दिएको छ ।