

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “टेलिकमलाई विश्वमै नेतृत्वदायी कम्पनीका रूपमा विकास गर्नका लागि हिजोको प्रतिबद्धता पूरा भयो कि भएन, सबै हिसाबले समीक्षा सहित दिगो र स्थायी कम्पनीका रूपमा अगाडि बनाउन रणनीति बनाएर जानुपर्छ ।” उहाँले जतिसक्दो चाँडो ग्रामीण क्षेत्रमा पूर्वाधारको विकास गरी गुनासो नआउने गरी सेवा प्रदान गर्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारका प्रवक्ता गुरुङले सुखी नेपाली, समृद्ध नेपालको सरकारको उद्देश्यमा योगदान पुग्ने गरी टेलिकमले ग्राहकको चाहनानुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।
टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विनियमावली कार्यान्वयनसँगै कर्मचारीको माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा टेलिकम बारे गुनासो नआउने गरी समस्या भएका स्थानमा जतिसक्दो चाँडो टावर निर्माण गरिने जानकारी दिनुभयो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जनतालाई प्रत्यक्ष लाभ हुने गरी गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई आग्रह गर्नुभयो । वार्षिकोत्सवका अवसरमा २० वर्ष काम गरेका ५० कर्मचारीलाई पदक प्रदान गरिनाका साथै व्यावसायिक साझेदारी सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।
मुलुकमा दूरसञ्चार सेवाको शुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था विसं २०६० माघ २२ गते कम्पनीमा रुपान्तरण भएपछि बनेको नेपाल टेलिकम आज आफ्नो स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । सत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करीब चार लाख २२ हजार रहेकामा अहिले दुई करोड नौ लाख पुगेका छन् ।
करीब ७० प्रतिशत जनसङ्ख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहँुच पुगिसकेको छ । आर्थिक वर्ष २०७६/०७७ मा टेलिकमको आय रु ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा रु नौ अर्ब ७४ करोड पुगेको छ । कम्पनीले मुलुकका ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७