TRENDING

बजेटमाथि विपक्षीहरुले राखेका कुतर्कको खण्डन गर्न ओली आफ्ना सांसदहरुलाई निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको सम्बन्धमा विपक्षीहरुले राखेका कुतर्कको तथ्यपूर्ण ढंगबाट खण्डन गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलका बैठकमा आफू समितिमा रहेको विषयमा प्रष्टसँग बोल्न र बजेटप्रति समर्थन जनाउन भनेका हुन् । उनले मन्त्रीहरुलाई पनि ध्यान दिएर बजेटबारे जवाफ दिन आग्रह गरे । जवाफ कर्मचारीले तयार पार्दिन्छन्, आएर म पढ्दिन्छु भन्नेजस्तो ढंगबाट प्रस्तुत नहुन उनले मन्त्रीहरुलाई सचेत गराए ।

‘हामीले नीति कार्यक्रम पनि उपयुक्त ल्यायौं । बजेट पनि उपयुक्त नै ल्यायौं । भोलिबाट बजेटमाथिको छलफल प्रारम्भ हुँदैछ । माननीयज्यूहरुले तर्कपूर्ण ढंगले किन बजेट ठीक छ भन्नुपर्ने छ । विरोधीहरुले हामीलाई को कि क्या हो ? भन्नेगरी, धर्मर् हुनेगरी गर्ने कुतर्कहरुको हामीले खण्डन गर्नुपर्ने छ । दह्रोगरी तर्कयुक्त ढंगले, तथ्य तथ्याङ्कसहित खण्डन गर्नुपर्ने छ,’– उनले भने ।

भोलि पनि माओवादी लगायत प्रतिपक्षी दलले संसद् अवरोध गर्न सक्ने ओलीले आशंका व्यक्त गरे । प्रतिपक्षीको अवरोधको बाबजुद पनि संसद् अगाडि बढाइने प्रधानमन्त्री ओलीले बताए । उनले संसद् अवरोध खुलाउने विषयमा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुराकानी गर्न चाहँदा पनि उनी सम्पर्कमा नआएको बताए ।

‘भोलि संसद् चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजे । हामी लिडरहरुको बीचमा अलिकति छलफल पनि गरौं भनेर, उहाँ सम्पर्कमा आउन चाहिरनु भएको छैन । उहाँलाई थाहा नभएको होइन । उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नु भएको छैन । उहाँहरु कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला । यस्ता नचाहिने कुरामा संसदको कारबाहीलाई रोकेर देशको विकासको गतिलाई अवरुद्ध गर्नेखालका काम, जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काम ।’ प्रधानमन्त्री ओलीले भने, ‘केही नपाएर गृहमन्त्रीको राजीनामा, केही तथ्य प्रमाणले गृहमन्त्रीलाई छुनु पर्यो । एउटा कर्मचारीलाई बोलाएर अख्तियारले सोध्यो रे भनेको भरमा । के सोध्यो पनि थाहा छैन । बयान लिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ । त्यस कारण राजीनामा गर्नुपर्यो । यस्ता कुराले संसुद् अवरोध हुँदैन । तपाईँहरु तयारी भएर बस्नुस् । उहाँहरु कराउनुहोला, तर संसद् अगाडि बढाउन पर्छ ।’