TRENDING

भारत र पाकिस्तान सिमा क्षेत्रमा भएको मिसाइल आक्रमण , क्षति बारे छुट्टाछुट्टै दाबि

काठमाडौं । मंगलबार मध्यरातमा भएको ‘अप्रेसन सिन्दूर’ पछि सीमा क्षेत्र एलओसीमा भारत र पाकिस्तानबीच भएको पछिल्लो सीमापार गोलीबारी र हवाई आक्रमणबाट दुवै पक्षमा ठूलो जनधनको क्षति भएको छ ।

एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीलाई भारतको पुछ जिल्लामा पाकिस्तानी गोलीबारीबाट १० सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् । सो आक्रमणमा ३२ जना घाइते भएका छन् । उता, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय हवाई आक्रमण र गोलीबारीमा पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा २६ सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् ।

उनका अनुसार ४६ जना घाइते भएका छन् । पछिल्लो जानकारीअनुसार दुवै पक्षले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । सीमामा सैन्य गतिविधि तीव्र पारिएको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेको छ । तर हालसम्म कुनै ठोस वार्ताको पहल भएको छैन । यो घटनाले आणविक शक्ति सम्पन्न दुई देशबिचको तनावले दक्षिण एसिया क्षेत्र थप अस्थिर रहने देखिएको छ ।