TRENDING

खाताबाट पैसा काटियो, तर पाउनु पर्नेले पाएन ? राष्ट्र बैंकमा अनलाइन उजुरी दिनुहोस्

काठमाडौं । यदि तपाईंले आफ्नो खाताबाट पैसा पठाउनुभयो र रकम कटेर जानुपर्ने खातामा गएन भने के गर्नुहुन्छ ? यस्ता समस्यामा सामान्यतया तपाईंले आफ्नो बैंकसँग सम्पर्क गर्न सक्नुहुन्छ । तर बैंकले गुनासोको समाधान गरेन भने ?

यस अवस्थामा तपाईं नेपाल राष्ट्र बैंकसँग गुनासो दर्ता गर्न सक्नुहुन्छ । नियामक निकायको रूपमा रहेको राष्ट्र बैंकले इजाजतप्राप्त बैंक, वित्तीय संस्था र मोबाइल वालेटसँग सम्बन्धित ग्राहकहरूको गुनासो समाधान गर्दै आएको छ । राष्ट्र बैंकमार्फत १८ प्रकारका गुनासो दर्ता गर्न सकिन्छ । यसमध्ये डिपोजिट, ऋण, सेवा शुल्क, लिलामी, एटीएम, मुद्रा सटही, क्रेडिट कार्ड, डेबिट कार्ड, रेमिट्यान्स, इन्टरनेट बैंकिङ लगायतका गुनासो समावेश छन् ।

गुनासो दर्ता गर्नको लागि राष्ट्र बैंकको अनलाइन पोर्टल प्रयोग गर्न सक्नुहुन्छ। पोर्टलमार्फत आफ्नो गुनासो दर्ता गरेपछि राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइले समाधान प्रक्रिया अघि बढाउँछ । राष्ट्र बैंकका उपनिर्देशक श्रीजा श्रेष्ठका अनुसार, गुनासो दर्ता गर्नका लागि पोर्टलको अलावा ईमेलमार्फत पनि गुनासो गर्न सकिन्छ । साथै, ग्राहकले भौतिक रूपमा उपस्थित भएर, चिठी लेखेर, वा हेलो सरकारमार्फत पनि गुनासो गर्न सक्छन् ।

नेपाल राष्ट्र बैंकको अनलाइन पोर्टलमार्फत गुनासो दर्ता गर्दा कागजात र विवरण सही हुनुपर्छ । गुनासोको प्रक्रिया पूरा भएपछि गुनासो दर्ता नम्बर ईमेलमार्फत प्राप्त हुन्छ । जसबाट तपाईं गुनासोको स्थितिको जानकारी प्राप्त गर्न सक्नुहुन्छ । गुनासो गर्ने व्यक्तिको विवरण र गुनासो गलत वा अपूर्ण भएमा भने गुनासोको सुनुवाइ प्रक्रिया अघि बढ्न सक्दैन । त्यस्तै अदालतमा विचाराधीन गुनासो र अपमानजनक गुनासोहरूको सुनुवाइ भने राष्ट्र बैंकले गर्दैन ।

अनलाइनबाट गुनासो दर्ता गर्ने प्रक्रिया:

सेवा लिइरहनुभएको बैंक वा वित्तीय सेवा प्रदायकसँग समस्या भएमा पहिले त्यहाँ गुनासो गर्नुहोस् ।
यदि बैंकले समस्या समाधान नगरे भने राष्ट्र बैंकको गुनासो पोर्टल मा गएर दर्ता गर्न सक्नुहुन्छ ।
गुनासो दर्ता गर्दा सबै आवश्यक कागजातहरू अपलोड गर्नुहोस् ।
गुनासो दर्ता गरेपछि तपाईंले दर्ता नम्बर प्राप्त गर्नुहुनेछ र ‘Track Complaint’ मा गएर गुनासोको स्थिति जाँच गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: चैत ५, २०८१ १४:३७