TRENDING

सांसद पदबाट रवि लामिछाने निलम्बित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

आईतबार लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।

संविधानको धारा १०३ मा प्रतिनिधि सभाका कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परे सभामुखलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप आइतबार नै कास्की प्रहरीले संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ता भएको जानकारी गराएको थियो ।

लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसको जानकारी जिल्ला प्रहरी कार्यालयले त्यसबेलै गरेको थियो । जानकारी पाएपछि संघीय संसद् सचिवालयले लामिछाने पक्राउ परेको सूचना निकालेको थियो ।

रविको मुद्दामा न्यायिक प्रक्रियालाई सघाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले पूर्व गृहमन्त्री समेत रहेका सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई सघाएर अघि बढ्ने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

बैठकमा सभापति लामिछानेविरुद्ध विभिन्न अभियोग लगाइ सरकारले दर्ता गरेको मुद्दाका विषयमा ब्रिफिङ भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराएका छन् ।