TRENDING

दसैंमा नयाँ नोट नपाइने, राष्ट्र बैंकले सुकिला नोटले काम चलाउने

काठमाडौं । यसपालिको दसैंंमा नयाँ नोट प्रयोग गर्न नपाइने भएको छ। हरेक वर्ष चाडपर्व लक्षित नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्रै चल्तीमा ल्याउने भएको हो।

राष्ट्र बैंकले विगतका वर्षमा दसैंमा नयाँ नोट वितरण गर्न ३र४ महिनाअगावै छपाइ गरेर भण्डार गर्ने गरेको थियो। तर, यस पटकको दसैं लक्षित नयाँ नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकका सह–प्रवक्ता डा। डिल्लीराम पोखरेलले बताए।

‘यस पटक दसैंमा नयाँ नोट वितरण हुँदैन। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरिएको हो,’ राष्ट्र बैंक सह–प्रवक्ता पोखरेलले क्यापिटल नेपाललाई भने, ‘आवश्यक हुनेलाई राष्ट्र बैंकले बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैंमा दिन्छ।’

दसैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने उनको भनाइ छ।

‘नोट छपाइ राष्ट्र बैंकको नियमित काम हो। विगतमा जस्तो दसैंमा नोट सटही गर्न भनेर यस पटक नयाँ नोट छपाएका छैनौं,’ उनले भने, ‘सुकिला नोट सटही व्यवस्था विगतका वर्षमा जस्तो गर्ने वा अन्य तबरले गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ।’