TRENDING

शुक्रबारसम्म एसईईको नतिजा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।बोर्डका अध्यक्ष महाश्रम शर्माले शुक्रबार भित्रै नतिजा प्रकाशित गर्ने गरी तयारीको काम भइरहेको जनाए । ‘सकभर चाँडो नै एसईईको नतिजा विद्यार्थीलाई दिने गरि काम भईरहेको छ,’ उनले भने, ‘ढिलोमा शुक्रबारसम्ममा रिजल्ट आइसक्छ ।’

बोर्ड अर्न्तगतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएको छ । तयारीको काम पूरा हुन साथ बोर्डको बैठक डोकेर नतिजा सार्वजनिक गरिने त्यहाँका कर्मचारीहरूले बताए ।

एसईईको नतिजा रिजल्टस् डट ईकान्तिपुरमा समेत हेर्न मिल्ने व्यवस्था गरिएको छ । विद्यार्थी अभिभावकले सिम्बोल नम्बर, मोबाइल नम्बरसहित र जिल्ला छनोट गरि आफ्नो नतिजा ईकान्तिपुरबाट प्राप्त गर्न सक्नेछन् । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेका छन् ।

यसपटक नयाँ पाठ्यक्रमका आधारमा एसईई परीक्षा सञ्चालन भएको थियो भने परीक्षार्थीको मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार हुनेछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजामा ननग्रेडिङमा पर्नेछन् । दुई विषयसम्म ननग्रेडिङमा परे ग्रेडवृद्धि परीक्षा दिन पाइने र सोभन्दा बढीमा ननग्रेड भए अर्को वर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था छ । उक्त पद्धतिअनुसार गतवर्ष देखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुदैं आएको छ । त्यसमा परीक्षा दिएका मध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्रै ग्रेडिङमा पर्दै आएका छन् । ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् ।