TRENDING

तत्काल पानी पर्ने सम्भावना छैन ः मौसमविद्

काठमाण्डौ । देशभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि आउँदो तीन दिनसम्म देशभर वर्षाको सम्भावना नरहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभएको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको र काठमाण्डौ उपत्यकासहित बाँकी क्षेत्रको मौसम भने सफा रहने उहाँले बताउनु भयो ।

काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। दिउँसोपख अधिकतम तापक्रम १८ देखि २० डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ। केही दिनयतादेखि काठमाण्डौको उपत्यकाको अधिकतम तापक्रम बढ्दै गएको मौसमविद् पुडासैनीले बताउनु भयो ।

यस्तै, जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम माइनसमा पुगेको छ। आज दोलखाको जिरीको तापक्रम माइनस ३ दशमलव ५, मुस्ताङको जोमसोमको माइनस २ र जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ४ डिग्री रहेको छ ।