TRENDING

चार दशकपछि किन्ताङ खोलामा बेलीब्रिज

मलेखु । धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ ।

सडक खन्न सुरु गरेको करिब चार दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो ।

३९ दशमलव छ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माणको काम सुरु गरिएको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो । पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै सवारी चल्ने गरी निर्माण थालिएको उहाँले जानकारी दिनुभयो ।

उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्ग हो । यो पुलले उत्तरी धादिङको रुवीभ्याली, गँगाजमुना, खनीयाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्नेछ । पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकामा खोलामा बेलिब्रिज बन्न थालेपछि उत्तरी क्षेत्रका स्थानीय खुसी भएका छन् ।

पुल बनेपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकको जनजीवन फेरिने आशा पलाएको गङ्गाजमुना गाउँपालिका–२ रिगाउँका राजु तामाङले बताउनुभयो । “पुल बनेपछि हामीले कति राहत पाउँछौँ कल्पना गर्नै सक्दैनौँ । चाँडै पुल बने हामी दुर्गममा बस्नेको जीवन फेरिन्छ”, उहाँले भन्नुभयो ।

किन्ताङ फेदीमा बन्दै गरेको बेलिब्रिज नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको हो । सो अस्थायी ब्रिज नेपाली सेनाको प्रविधिक सहयोगमा निर्माण भइरहेको छ । अहिले पुलको दायाँबायाँको जिप÷पिल्लरका लागि खाल्डो खन्ने काम भइरहेको छ । दुई महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको खनियाँबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले जानकारी दिनुभयो ।