TRENDING

दसैँले रोकिएन वैदेशिक रोजगारी

काठमाडौँ। नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् ।

देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दसैँको मुखमा बिदेसिन धेरै युवा बाध्य छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुसी नै छोडेर विदेश गइरहेका छन् ।

चालु आवको असोजमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाको सङ्ख्या ५६ हजार २३५ पुगेको छ । गत वर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या ६२ हजार ७०६ थियो । यसै गरी गत आवको साउन, भदौ र असोजमा दुई लाख दुई हजार बिदेसिएकामा चालु आवको पहिलो तीन महिनामा यो सङ्ख्या एक लाख ६२ हजार ९०४ जनामा झरेको छ । सो अवधिमा श्रम स्वीकृति लिएर विदेश गएकामध्ये एक लाख ४१ हजार ४४५ जना पुरुष र २१ हजार ४५९ जना महिला रहेका छन् ।