TRENDING

चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

धादिङ । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । यस वर्ष पनि चेपाङ समुदायले सामूहिकरूपमा छोनाम न्वागी पर्व मनाउँदै छन् । शुक्रबार सामूहिकरूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिनुभयो । उहाँले सामूहिक उत्सवको सबै तयारी गरिएको बताउनुभयो ।

उहाँका अनुसार चितवन, धादिङ, मकवानपुर र गोरखाका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वागी मनाउँदैछन् । विगत आठ वर्षदेखि चेपाङ समुदायले चेपाङ सङ्घको पहलमा सामूहिकरूपमा न्वागी मनाउँदै आएका छन् । “चेपाङ सङ्घको तर्फबाट उत्सवका रूपमा सामूहिकरूपमा पर्व मनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ ।” उहाँले सरकारले सार्वजनिक बिदा दिन थालेपछि छोनाम पर्वमा थप उत्साह बढेको बताउनुभयो ।

उहाँका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उहाँले बताउनुभयो ।

मुख्य समाचारबाट थप समाचार