TRENDING

सुस्त स्वास्थ्य बिमा

काठमाडौँ । जीवराम दनुवार सानैदेखि जमिनदारको हरुवाचरुवा बसे । उमेर छउन्जेल जमिनदारको खेतबारी जोते । थोरबहुत जीविका चल्थ्यो । हातगोडा खिइएपछि जमिनदारको काम छाडे । सिन्धुलीको दुधौली नगरपालिका, तल्लो खुट्टेपानीस्थित मदन भण्डारी राजमार्ग छेवैमा ऐलानी जग्गामा सानो घर बनाएर परिवार बसाले । बुढ्यौली उमेर भए पनि बिहान–बेलुकी छाक टार्नलाई बनिबुतो गर्नैपर्छ उनले ।

खानकै दुःखले तीन छोरीलाई सानैमा विवाह गरी पठाए । हाल ६१ वर्षीय उनी एक वर्षदेखि घुँडा दुख्ने समस्याले पिरोलिएका छन् । उनकी श्रीमती उच्चरमती २० वर्षदेखि सुन्दिनन् । राम्रोसँग देख्दिनन् । उपचार गर्न पाए दुवैको ज्यान तंग्रिन्थ्यो कि भन्ठान्छन् जीवराम ।
उनी उपचार खर्च सम्झेरै मन मार्छन् ।

दुई वर्षअघि झन्डै पाँच लाख खर्चिएर उपचार गर्दा पनि नातिनी बाँचिनन् । निमोनिया भएपछि सात महिनाकी नातिनीलाई जनकपुर अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । ऋण तिर्न भएको जम्मा एक कट्ठा १० धुर ऐलानी जग्गामध्ये आधा बेच्नुपरेको थियो । यसपछि खेत जोत्दै गर्दा गोरुले हानेर घाइते भएको छोरोलाई उपचार गर्न ८० हजारजति ऋण लागेको थियो । ऋण तिर्ने कमाइ गर्न छोराबुहारी काठमाडौं छिरे ।

अब आफ्नै घुँडाको उपचार गर्नतिर लाग्ने हो भने झुप्रो घरसहित बचेखुचेको जग्गा नै बेच्नुपर्ने डर छ उनलाई । ‘ऋण गर्नलाई साहु महाजनले पनि पत्याउँदैनन् अब त, उपचार गर्न मन लागेर मात्रै के गर्नु,’ आफ्नो दुःख कहन्छन् ।

हरेक नागरिकलाई स्वास्थ्योपचारमा भइरहेको व्यक्तिगत खर्च कम गरेर सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य पहुँच र उपभोगमा सुधार गर्न सरकारले आठ वर्षअघि लागू गरेको स्वास्थ्य बिमाले जीवराम दम्पतीलाई समेट्दैन । उनीहरूजस्ता विपन्न तथा गरिब परिवारलाई बिमामा आबद्ध हुन चाहिने योगदान रकम नेपाल सरकार, प्रदेश वा स्थानीय तहले बेहोर्नुपर्ने ‘स्वास्थ्य बिमा नियमावली ०७५’ मा उल्लेख छ । तर तिनै विपन्न, गरिब, लक्षित वर्गलाई परेको समस्या सोध्न कोही पनि आउँदैनन् ।

‘हामी जस्तालाई खान, बस्न, उपचारमा सहायता र रोजगारी दिनुपर्ने हो, गरिबदुःखीको भाग्य नै यस्तै रहेछ, कसले सुनिदिने, बुझिदिने हो र १ कोही सोध्नै आउँदैनन्,’ जीवरामले भने ।