TRENDING

धादिङ बस दुर्घटना : चार जनाको शनाखत

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुने मध्ये चार जनाको सनाखत भएको छ ।

म्याग्दी रघुगंगा–३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुसिल रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापाको शनाखत भएको छ ।

दुई जना महिला छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको छ । मृतक एक जना महिला र तीन जना पुरुषको शनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले इसेवाबाट टिकेट काटेका थिए । कलंकीबाट २ जना र धादिङको आदमघाटबाट दुई जना पुरुष चडेका थिए । सहचालक तामाङ सकुशल छन् ।

काठमाडौबाट पोखरा हुँदै म्याग्दीको वेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशुली नदीमा खसेको हो । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार १७ जना घाइते छन् । १३ जनाको उपचारका लागि काठमाडौं पठाइएको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भैरहेको छ । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।

बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशंकामा खोजी गरिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय उद्दार गरेका थिए ।

विपरीत दिशातर्फ बस खसेकोले साघुरो सडकमा ओभर्टेग गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।

मुख्य समाचारबाट थप समाचार