TRENDING

धादिङको जोगिमारा बस दुर्घटना, २६ घाइते, तीनको अवस्था गम्भीर

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ जना घाइते भएका छन् । तुल्सिपुर दाङबाट काठमाण्डौं तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।

बिहान करिब ५ बजे भएको दुर्घटनामा घाइते मध्ये पाँच जनालाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । अन्य घाइतेहरुको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको छ ।

सल्यान सबेश्वरी ३ का २४ वर्षिय राजेन्द्र पुन, उनका छोरा ६ वर्षिय आशिष के।सि। र सल्यान जिल्ला बाघचौर नगरपालिका(१० का ५० वर्षिय मान बहादुर खड्काको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । दुर्घटना स्थलमा प्रहरी चौकी जोगिमाराका प्रहरी र स्थानीयले उद्दार गरेका थिए । अधिकांश घाइतेहरु रुकुम, दाङ र सल्यानका छन् ।

मुख्य समाचारबाट थप समाचार