

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो ।
मौसम खराब भएपछि मध्ये जनवरीलाई छुने गरी गणना शुरु गर्न लागिएको हो । गणनाको नेतृत्व गरेको वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ ।
चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ । कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ । लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ । बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उहाँले जानकारी दिनुभयो ।
बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ । नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ । यस वर्ष पहिलोपटक विस्तृतरुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ । जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा तीन वटा समूह बनाएर गणना गरिँदै छ । पचासभन्दा बढी गणक सहभागी हुने बिडारीको भनाइ छ ।
छ दिनभित्र गणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ । गतसाल जिल्लामा ६४१ प्रजातिका चरा फेला परेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो सङ्ख्या ८८७ रहेको छ । चरा गणनाका लागि सौराहा क्षेत्रका विभिन्न सङ्घ संस्थासँग सहयोग जुटाइएको छ । उहाँका अनुसार रु एक लाख ८० हजार हाराहारी गणनामा खर्च गरिँदै छ । डुङ्गा, जीप र खानपानमा खर्च हुने गर्दछ ।
यो समय टाढा टाढाबाट जाडो छल्न यहाँ चरा आउने गर्दछन् । बिडारीका अनुसार साइबेरीया, अष्ट्रेलियालगायतका देश र ठाउँबाट उत्तरी सीमा हुँदै नेपालमा चरा आउने गर्दछन् । गर्मी लागेसँगै ती चरा फर्कने गर्दछन् । जाडोमा आउने चरा हाँस प्रजातीका हुने बिडारीको भनाइ छ । ती चरा पानीमा आश्रित हुने गर्दछन् । हिउँका कारण खान नपाएपछि चरा आउने गर्दछन् । सगरमाथा माथिबाट उडेर खोया हाँस आउने गर्दछ ।
गणना कार्यमा क्यामेरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरिन्छ । नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना हुन्छ । फोटो ग्राफरको पनि गणनामा सहभागिता हुने छ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गण्ना गरिन्छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७