TRENDING

भोलि काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने

काठमाण्डौ । भोलि शनिवार काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भोलि ८ घण्टासम्म बन्द हुने भएको हो ।

प्राधिकरणले आज सूचना निकालेर भोलि बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १ सय ३२ केभीमा चार्ज गर्ने काम भइरहेको छ ।

बाग्मती फिडर अन्तर्गत सानेपा राममन्दिर, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडिएण्ड स्कुल क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ । त्यस्तै, ललितपुरको पुल्चोक फिडर अन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास, ठाडोढुङ्गा क्षेत्रमा बिजुली कटौती हुनेछ ।

चमती फिडर अन्तर्गत ज्ञानतीर्थ मार्ग, कालीमाटी शालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारुद खाना क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।

कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा, त्रिपुरेश्वर फिडर अन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य सङ्घ हुँदै सुकुम्बासी बस्ती, वर्ल्ड ट्रेड सेन्टर र थापाथली स्वीचिङ अन्तर्गत टेकु त्रिपुरेश्वर चोक, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रङ्गशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालयन होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोकसम्म बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।