TRENDING

भारतको सिम्लामा सिकेको सीपले सल्यानमा व्यावसायिक स्याउ खेती

सल्यान । घरको आर्थिक अवस्था कमजोर भएपछि १४ वर्षको उमेरमा बीचमै पढाई छाडेर २०५४ मा बन्गाड कुपिन्डे नगरपालिका– ९ जयतपानीका लोकेन्द्रबहादुर बुढाथोकी भारतको हिमाचल प्रदेशको सिम्ला गए । उमेर सानै भएपनि उनले त्यहाँ चार वर्षसम्म स्याउ फर्ममा काम गरे ।

घरपरिवारको खर्च जोहो गर्ने हेतुले भारतको सिम्ला गएका उनले परिवारलाई आवश्यक खर्च पनि जुटाउन सकेनन् । पछि स्याउ फर्ममा काम गर्न छाडेर सिम्ला क्षेत्रमा झन्डै ८ वर्ष उनले मालबाहक ट्रक चलाए । २०६६ सालमा गाउँ फर्किएका उनले अहिले व्यवसायिक स्याउ खेती गरिरहेका छन् ।

८ वर्षदेखि स्याउ खेतीमा लागेका बुढाथोकीले समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटर उचाइमा रहेको घर नजिकै डाँडोमा ११ रोपनी जग्गामा ३ सय ५० बोट स्याउ लगाएका छन् । उनले लगाएको ३ सय बोटमा गत वर्षदेखि स्याउ फल्न थालेको छ । अहिले उनको बगैंचामा स्याउ पाकेर राताम्य हुन थालेका छन् ।