TRENDING

धादिङबेसीमा डेंगुको संक्रमण बढ्यो

काठमाडौ । बर्षात सुरु भएसंगै धादिङमा डेंगुका बिरामीको सङ्ख्या बढ्न थालेको छ। रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेंगुका बिरामी पनि बढ्न थालेको हो।

धादिङ अस्पतालमा मात्रै पछिल्लो समय दैनिकजसो ३ जनामा डेंगुको संक्रमण भेटिएको अस्पतालका सूचना अधिकारी रामचन्द्र रिजालले जानकारी दिए । जेठ पहिलो सातादेखि असार १७ गतेसम्म धादिङ अस्पतालमा उपचारको लागि आएका मध्य ८८ जनामा डेंगु संक्रमण भेटिएको रिजालले बताए ।

दिनानुदिन संक्रमणको दर बढ्दै गएको छ । खासगरी सदरमुकाम आसपासका क्षेत्रमा संक्रमणको संख्या बढ्दो छ । स्थानीय त्रसित बनेका छन् । ग्रामीण वस्तीहरुमा पनि डेंगुको संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

‘अस्पतालमा जाँच गर्न आएका मध्ये दिनमा तीन जना जतिलाई डेंगुको संक्रमण भेटिने गरेको छ’, धादिङ अस्पतालका डाक्टर माधव पौडेल भन्छन् ‘डेंगु रोगको संक्रमण दिनानुदिन बढ्दै गएकाले डेंगुको लार्भा खोजेर नष्ट गर्नु नै नियन्त्रणको सबैभन्दा उत्तम उपाय हो । ’

डेंगु संक्रमण भेटिएका अधिकांश बिरामीलाई भर्ना गरेर राख्नु पर्ने अवस्थामा अस्पताल आइपुग्ने उनले बताए । संक्रमण भएपछि शरीरमा सेतो रगतको मात्रा घट्ने र पानी मात्रा कम हुने भएकोले बिरामीको अवस्था चाडै कमजोर बन्ने भएकोले भर्ना गर्नैपर्ने अवस्था आउने डा. पौडेलले बताए ।