TRENDING

फिलिपिन्ससँग नेपालको साँघुरो हार

काठमाडौँ  । नेपालको फिलिपिन्सविरुद्ध बिहीबारको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल एउटा तथ्यका लागि सधैं सम्झिने छ । तथ्यका नायक हुन्, आर्मीका विमल पाण्डे । सम्भवतः उनी आफ्नो खेलजीवनको अन्त्यतिर थिए । उनले सोचेका पनि थिएनन्, कुनै दिन नेपालका लागि खेल्ने छु भनेर । तर, सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७९–८० को क्रममा उनी प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको नजरमा परिहाले । नतिजास्वरूप उनले फिलिपिन्ससँग राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाए ।

त्यो पनि सुरुआतमै । अनि यसै क्रममा बनेको छ एउटा कीर्तिमान । त्यसमा विमललाई पनि गर्व रहनेछ । उनी नेपालका लागि सबैभन्दा बढी उमेरमा डेब्यु गर्ने खेलाडी बनेका छन् । फिलिपिन्सविरुद्धको खेलका लागि रियल मेमोरियल स्टेडियममा डेब्यु गर्दा उनी ३३ वर्ष ४ महिना २४ दिनका थिए । त्यस अगाडि सबैभन्दा बढी उमेरमा नेपालका लागि डेब्यु गरेको कीर्तिमान टासी छिरिङको नाममा छ । सन् २००५ को साफ च्याम्पियनसिपमा उनले भारतविरुद्ध डेब्यु गरेका थिए ।

पाकिस्तानको कराँचीमा भएको उक्त खेलमा टासीले पनि नेपालका लागि सुरुमै खेल्न पाए । जापानी प्रशिक्षक तोसिहिरो सिवाजावाले उनलाई त्यो मौका दिएका थिए । त्यतिबेला टासीको उमेर थियो ३२ वर्ष ७ महिना १६ दिन ।

त्यसको १८ वर्षपछि अब विमलले पनि भारतको बेंग्लोरमा हुने साफ च्याम्पियनसिप खेल्नेछन् । विमल र मनाङ मर्स्याङ्दीका खेलाडी रहेका टासीको एउटा समानता के भने दुवै डिफेन्डरका रूपमा थिए । विमलको उपलब्धिले फेरि सिद्ध भएको छ, खेलाडीको भाग्य कुन बेला कसरी फेरिने हो, थाहा हुन्न ।