

बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा आधुनिक सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रको आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उद्घाटन गर्नुभयो । उद्घाटनपछि उहाँले सूचना केन्द्रबाट सबै तप्काका नागरिकले लाभ लिने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका लागि उपकरण, फर्निचरलगायतका सामग्री खरिदमा प्रभु बैंकले रु पाँच लाख सहयोग गरेको थियो । प्रमुख कार्यकारी अधिकृत शेरचनले जिल्लाका अन्य क्षेत्रमा पनि सूचना केन्द्र विस्तारका लागि बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “सुसंस्कृत र सुसूचित समाज निर्माणका लागि सूचना केन्द्र बहुउपयोगी बन्नेछ”, उहाँले भन्नुभयो ।
शाखा अध्यक्ष दिल शिरीषले सूचना केन्द्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभयो । तत्काललाई पत्रकार÷सञ्चारकर्मीका लागि अध्ययन, समाचार लेखन लगायतका कामका लागि केन्द्र प्रयोगमा आउने भएको छ । अध्ययन संस्कृतिको विकासमा पनि सूचना केन्द्रले सघाउने विश्वास लिइएको छ ।
सूचना केन्द्रमा जिल्लाको पहिचान झल्काउने श्रव्य÷दृश्य सामग्री, विभिन्न क्षेत्रका सूचना÷अद्यावधिक तथ्याङ्क लगायत सार्वजनिक चासो र महत्वका जानकारी लिनदिन सकिने गरी प्रबन्ध मिलाइने अध्यक्ष शिरीषको भनाइ छ । उहाँले छिट्टै विद्युतीय पुस्तकालय पनि सोही केन्द्रमार्फत सञ्चालनमा ल्याइने बताउनुभयो । सूचना केन्द्रमा भौतिक पुस्तकालय पनि रहनेछ ।
“अहिले शुरुआत मात्र भएको छ, यसको प्रभावकारिता कसरी बढाउने भन्ने सन्दर्भमा हामीले थप योजना बनाउँछौँ”, अध्यक्ष शिरीषले भन्नुभयो, “आम नागरिकको सूचना केन्द्रमा पहुँच रहने गरी पूर्वाधार, सुविधा थप्छौँ ।” अहिले १० वटा कम्प्युटरबाट सूचना केन्द्र सञ्चालनमा आएको छ । आफ्नै कार्यालय नभएका, कम्प्युटर, इन्टरनेटलगायत सुविधाबाट वञ्चित पत्रकारले पनि सूचना केन्द्रबाट समाचार लेखन÷सम्प्रेषणको काम गर्न सक्नेछन् ।
पत्रकारका लागि इमेल, इन्टरनेट, फोटोकपीजस्ता सेवा पनि निःशुल्क प्रदान गरिने शाखाले जनाएको छ । शाखाले आफ्नै सुविधासम्पन्न भवनसँगै आधुनिक सूचना केन्द्र बनाउने योजना केही वर्षअघि सारेको थियो । शाखाको तीनतले भवन निर्माण पूरा भई गत मङ्सिर ३० गते उद्घाटन भइसकेको छ । ‘हामी सबैको रहर, पत्रकार महासङ्घ बागलुङको घर’ अभियानमार्फत सङ्कलित रकमबाट भवन निर्माण गरिएको हो । भवन निर्माणमा जनसाधारण देखि राज्यका निकायको योगदान छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७