TRENDING

मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव

काठमाडौ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा हटाउन मुआब्जा वितरणका लागि रकम अभाव भएको छ । मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड० ले यो खण्डमा छ सय ३१ घरटहराका लागि मुआब्जा वितरण गर्नुपर्नेछ ।

घरटहरा हटाउनका लागि रु २२ करोड ४५ लाख मुआब्जा आवश्यक पर्ने इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । त्यसमध्ये रु १४ करोड ५० लाख भुक्तानी भइसकेको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “घरटहरासमेत गरी छ सय ३१ संरचनाका लागि मुआब्जा वितरण गर्न अहिले बजेट सकिएको छ, असार मसान्तसम्म रकम निकासा भएर आएपछि भुक्तानी हुन्छ ।”

पाण्डेका अनुसार हालसम्म चार सय ७२ घरटहरा भत्काइएको छ । त्यसमा ८३ लाभग्राहीले पहिलो किस्ता लगेर संरचना भत्काउन सुरु गरेका छन् । त्यस्तै, पहिलो किस्ताका लागि रु दुई करोड रकम माग गर्दै निवेदन आएको छ । “निवेदन आए पनि अहिले भुक्तानीका लागि रकम नभएकाले केही समय भुक्तानी दिन सक्ने अवस्था छैन, रकम आउनेबित्तिकै उनीहरुलाई पनि भुक्तानी हुन्छ”, पाण्डेले भन्नुभयो ।

यो खण्ड अन्तर्गत व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका पर्दछन् । त्यसमध्ये बन्दीपुरको प्रमुख बजार डुम्रेमा घरटहरा भत्काउन सुरु भइसकेको छ । आँबुखैरेनी र व्यास नगरपालिकाको दमौली बजारमा घरटहरा भत्काउन बाँकी छ । उहाँले भन्नुभयो, “डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, सडक मापदण्डभित्र रहेका सबै संरचना बिस्तारै हटाइन्छ ।” डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन् ।