TRENDING

साविक विजेता मच्छिन्द्रलाई उपाधि लक्ष्यमा धक्का

काठमाडौँ । विभागीय टोली नेपाल पुलिसविरुद्ध लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता मच्छिन्द्र फुटबललाई शहीद स्मारक ए डिभिजन लिग उपाधिको लक्ष्यमा धक्का लागेको छ।

ललितपुरस्थित च्यासल मैदानमा आइतवार सम्पन्न खेलमा नेपाल पुलिस क्लबसँग २–१ ले पराजित भएपछि मच्छिन्द्र फुटबल क्लबको उपाधि लक्ष्यमा धक्का लागेको हो।

मच्छिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न असफल रहेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा ओलावाले अफिजको गोलमार्फत मच्छिन्द्रले शुरुवाती अग्रता बनाउन सफल भएको थियो।

दोस्रो हाफमा पुलिसले सुधारिएको खेल देखाउँदा मच्छिन्द्र निरीह बन्न पुग्यो। पुलिसको जितमा दुवै गोल विदेशी खेलाडी मोसेस टोएमले गोल गरेका थिए। राजधानीमा जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा रहेका अफिजले २३औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए।

छिरिङ गुरुङको क्रसलाई सदुपयोग गर्दै अफिजले जाली चुमाउन सफल हुँदा मच्छिन्द्रले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा सुधारिएको खेल देखाएको पुलिसका लागि ७३ औं मिनेटमा मोसेसले फ्रीकिकमार्फत उत्कृष्ट गोल गरेपछि खेल बराबरीको अवस्थामा आएको थियो। त्यसको १० मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मोसेसले पुलिसलाई २–१ को रोमाञ्चक अवस्थामा पुर्‍याएका थिए।