TRENDING

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताउनुभयो । “यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको । यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु ।”

उहाँले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउनुभयो । “अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो”, प्रधानमन्त्रीले भन्नुभयो, “देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।”