

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभयो ।
“आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु तपाईंहरुलाई थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।”आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख गर्दै उहाँले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित गर्नुभयो ।
“जवाफदेही र जिम्मेवार बनाउने परम्पराको हामी सुरुआत गरौँ”, उहाँले भन्नुभयो । धेरै कारणबाट राजस्व घटेको र राजस्व घट्नुमा भन्सारको सम्पूर्ण दोष नरहेको भन्दै उहाँले राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको बताउनुभयो । उहाँले दुवै सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा निगरानी गर्न आग्रह गर्नुभयो ।
“धेरै भन्सार नाकाबाट राजस्व सङ्कलन घटेको छ । ती नाकाबाट पनि राजस्व चुहावट भएको खबर छ । भैरहवा, वीरगञ्ज, रसुवा नाकामा पनि त्यस्तै अवस्था छ । यसलाई गम्भीर ढङ्गबाट लिनुहोला”, मन्त्री महतले भन्नुभयो ।
साधारण खर्च धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उहाँले अहिलेको अवस्थालाई राजनीतिक नेतृत्वले उच्च महत्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्व यसमा गम्भीर छ । यो गम्भीरतालाई मध्यनजर राखेर जहाँजहाँ समस्या छन् ती समस्यालाई समाधान गर्न हाम्रोतर्फबाट कुनै कसर बाँकी राखिने छैन ।”
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७