TRENDING

हामीले छाकैपिच्छे खाने तेल कसरी विषाक्त हुन्छ

काठमाडौं । चाडपर्वमा घरमा सेलरोटी, पुरीजस्ता परिकारहरु पाक्छन् । यस्ता खानेकुराको लागि तेल पनि धेरै खपत हुन्छ, साथै समय पनि । तारेर पकाइने खानेकुरामा तेल त्यसै बाँकी रहने भएकाले त्यसलाई फेरि प्रयोग गर्ने अधिकांशको बानी हुन्छ ।

तर एकपटक प्रयोग गरेको तेललाई फेरि प्रयोग गर्नु हानिकारक हुने पोषणविद् अनुश्री आचार्य बताउँछिन् । एउटै तेललाई पटकपटक तताएर प्रयोग गर्दा त्यो ट्रान्सफ्याटमा परिवर्तन हुने र सडक पिच गर्ने ‘टार’ जस्तो बाक्लो हुने उनी बताउँछिन् ।

‘त्यसैले एकपटक केही खानेकुरा पकाइसकेको बासी तेललाई बारम्बार प्रयोग गर्नु स्वास्थ्य दृष्टिकोणले भने राम्रो होइन । बढीमा दुई पटक मात्र यसलाई प्रयोग गर्नुपर्छ,’ आचार्य भन्छिन् ।

शरीरमा २५ प्रतिशत फ्याट हुनुपर्छ । त्यसैले शरीरमा फ्याटको मात्रा पुर्‍याउन तेलको प्रयोग गर्नुपर्ने हुन्छ । ‘तर कति खाने कस्तो तेल भन्ने कुरामा भने ध्यान दिनुपर्छ । एक जना व्यक्तिले दैनिक १० एमएल तेल प्रयोग गर्नु ठीक हुन्छ,’ आचार्य सुझाउँछिन् ।

हामीले दुई चम्चा तेल राखेर तरकारी पकाउँछौ अनि पाँच जनाले बाँडेर खान्छौं । यसरी दिनमा दुईपटक तरकारी खान्छौं वा भातमा एक चम्चा घिउ हालेर खायौं भने १० एमएल तेल खान्छौं, जुन स्वास्थ्यको लागि लाभदायक नै हुने उनी बताउँछिन् । साथै गुड फ्याट पाइने खानेकुरा जस्तै ड्राइफ्रुट, चीज आदि पनि खान सकिने उनको सुझाव छ ।