

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको हस्तक्षेपको कारण सवारी ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयन फेरि एकपटक रोकिएको छ।
आइतबारबाट लागू गर्ने भनिएको सवारी ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली तत्काल लागू नगर्न मुख्यमन्त्री कार्यालयले परिपत्र गरेपछि अन्तिम समयमा पुनः उक्त प्रणाली कार्यान्वयन रोकिएको हो।
भोलि आइतबार संघीय राजधानीसमेत रहेको काठमाडौंको चाबहिलस्थित यातायात कार्यालयबाट ७० अंकको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी श्रम,रोजगार तथा यातायात मन्त्रालयको थियो। तर,त्यसको दुई दिनअघि शुक्रबार मुख्यमन्त्री कार्यालयले पत्र लेख्दै तत्काल उक्त प्रणाली कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
बागमती प्रदेशको यातायात व्यवस्था सेवा कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले शुक्रबार लाइसेन्सको परीक्षा सञ्चालन गर्ने चारवटा यातायात कार्यालय प्रमुखलाई जावलाखेलस्थित सुशासन कार्यालयमा बोलाएर अंक प्रणाली लागू नगर्न निर्देशन दिएका थिए।
‘भोलि उद्घाटन गर्ने सबै तयारी भइसकेको छ। तर, एक्कासि मुख्यमन्त्रीज्यूले कार्यालय प्रमुखहरूलाई बोलाएर अंकप्रणाली लागू नगर्न निर्देशन दिनुभएको रहेछ। के कारणले उहाँले रोक्न निर्देशन दिनुभयो भन्ने हामीलाई थाहा छैन’,स्रोतले भन्यो।
यातायात मन्त्रालयले बिहीबार मात्रै ती कार्यालयहरूलाई सातबुँदे निर्देशनसहितको पत्र पठाएर अंक प्रणाली लागू गर्न भनेको थियो। मुख्यमन्त्री कार्यालयले उक्त अंक प्रणाली रोक्न निर्देशन दिएसँगै कर्मचारीहरु अलमलमा परेका छन्।
‘अहिले लागू गर्ने भनिएको ४ वटा कार्यालयको प्रमुखहरूलाई बोलाएरै मुख्यमन्त्रीले अंक प्रणाली लागू नगर्न निर्देशन दिनुभएछ। हाम्रो यातायात मन्त्रालयको मन्त्रीज्यू सोही प्रणालीको उद्घाटन गर्न हिजै काठमाडौं गइसक्नु भएको छ’,स्रोतले भन्यो,‘कर्मचारीहरू यतिबेला आफ्नो विभागीय मन्त्रीले भनेको मान्ने कि मुख्यमन्त्रीले भनेको मान्ने अन्यौलमा परेका छौँ।
बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले आफ्नो कार्यकालमा सो प्रणाली लागू गर्न खोजेका थिए। तर, दुईपटकसम्म मुख्यमन्त्री पाण्डेको सिधा हस्तक्षेपको कारण रोकिएको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७